कैद, तिम्रो ओठ !

तिमी
चिया पसलबाट उठेर गएपछि
गिलासको बिटमा
एउटा ओठ छोडेर गएछौ
मात्र एउटा ओठ

तिमीलाई त यो पनि थाहा छैन
तिमी
चिया पसलबाट उठेर गएपछि
मैले तिमीले बाँकिराखेको चिया पिउन खोज्दा
तिमीले छोडेको एउटा ओठमा
मेरो ओठ जोडिन नपाउँदै
तिम्रो ओठ लत्पतियो
मेरो ओठमा सर्यो
तिम्रो ओठको अलिकति रंग
चिया पसले हाँस्यो
बिचराले मेरो ओठमा
तिम्रो ओठको लिप्स्टिक देख्यो
मात्र लिप्स्टिक !

तिमी
चिया पसलबाट उठेर जाँदा
खै के लिएर गयौै ?
म भने
चिया पसलेसँग
दुइसय रुपियाँमा
तिम्रो लल्पतिएको ओठ किनेर फर्किएँ ।
चिया पसले फेरि हाँस्यो
सोच्यो होला
मुर्खले
जावो सिसाको गीलासलाई
दुइसय रुपियाँ तिर्यो ।

मेरो इच्छा छ,
तिमी मेरो घरमा पस्दा
सिसाको फ्रेमभित्र कैद तेही गीलास
र आफ्नै ओठ
तिमीले चिन्नेछौ
र मलाई मुर्ख ठान्ने छैनौ ।

 

 



Comments

You may like this