राधिकाको घर

घरको जिम्मेवारीले पढाइ पुरा नगरिकन जुन स्कुलबाट एस एल सी पास गरेँ त्यही स्कुलमा पढाएर केही बर्ष फालेँ । ढिलै भएपनि बाको कुरा काटेर म काठमाडौँ गएर पढ्छु भन्ने साहस आयो । पढाइ त पुरा गरेँ तर उमेरको हदबन्दीले मेरो अधिकृत बन्ने अथवा सरकारी कर्मचारी हुने इच्छा पुरा भएन । बालाई गाउँको खेतबारी बेचे नर्क गइन्छ झैँ लाग्थ्यो । चल सम्पत्तीको स्रोत घरमा मेरो कमाई शुरु नहुन्जेल केही थिएन । मैले ३२ बर्षको उमेरमा मात्र बिहे गरेँ । राधीकालाई घरमै छोडेर काठमाडौँ पसेको थिएँ ।

नयाँ बानेश्वरको डेराको घरमा म खुशी थिएँ । सरकारी जागीर नखाएपनि एउटा हेल्थ प्रोजेक्टमा प्रोजेक्ट मेनेजरको काम गरेको थिएँ । पैसा पनि नराम्रो थिएन । प्रोजेक्ट अस्थायी भएकाले मनमा दुबिधा भइरहन्थ्यो । प्रोजेक्ट जहिले पनि बन्द हुन सक्थ्यो । जागिर नहुँदा यो शहर बस्न गार्हो थियो । लाग्थ्यो यो शहरले शास फेरेको पनि भाडा माग्छ । राधिकालाई लिएर आएपछि केही महिना राधिका मसँग खुलेर बसिनन् । म गाउँमा निकै कम जान्थेँ । बिदामा स्कुलको होस्टेलमा र घर घरमा गएर ट्युसन पढाउथेँ । गाउँको घरमा त्यस्तो वातावरण थिएन । ६ बर्ष अगाडि बिहे गरेपनि उनको र मेरो सम्बन्ध प्रगाढ हुन पाएको थिएन । ३८ बर्षको उमेरमा बल्ल मैले नयाँ दुलाह भएको अनुभूति गरिरहेको थिएँ । दैनिकी एउटा प्रिय सम्बन्धमा जेलिएको थियो जसलाई यौनले थम रोमाञ्चक बनाउँथ्यो । अहिले सम्म जीवनको यो नविनतम र सुखद् भोगाइलाई जिम्मेवारीको भोटेताल्चा लगाएको थिएँ ।

मैले राधिकालाई र घरमा नभनीकन एउटा सानो ४ आनाको घडेरी ट्याङ्ला फाँटमा किनको थिएँ । लागेको थियो, घर बनाएपछि एकैचोटी यो खशी बाँड्छु । घडेरी सँधियारले मिचिमिचि मात्र ३ आनाको बनायो । नापी, मुद्या—मामिला भन्दा मलाई ३ आनाकै घडेरी मञ्जुर थियो । त्यसै चेपिएको जिन्दगीमा अर्को मिचाई मैले सहर्ष स्विकारेँ । हाम्री एउटी छोरी जन्मीई । हामीले उसको नाम सपना राख्यौँ । सपना लम्साल । राधिका यस क्रममा थुप्रै साथीहरूसँग घुलमिल भइसकेकी थिइन् । उनकै आफन्तहरू र स्कुलका साथीहरू पनि थिए । राधीकाले पनि आइ. ए. पुरा गर्न पाएकी थिइनन् । मैले उनलाई छोरी हेर्ने क्रममा पढाई शुरु गर भनेर भन्दा उनले पढ्न खोजिनन् । मैले यसलाई जति महत्व दिएपनि उनले यसलाई बेवास्ता गरिन् । उनका साथीहरू सबै गृहणीकै रुपमा बसेका थिए । उनीलाई पनि शायद त्यसैको प्रभाव थियो । छोरीलाई पढाउने र घर बनाउने जिम्मेवारी म एक्लोको कमाईले पुरा हुने गार्हो देखेर मैले एउटा आशा रोप्न खोजेको थिएँ । राधिकाले आइ ए सम्म सके मैले कतै प्रोजेक्टमा केही जोहो गर्न सक्छु भन्ने सोच थियो । राधिकामा अलि बदलाब पनि आउन थाल्यो । हामीहरु अलिकति भनाभन पनि गर्न थाल्यौँ । राधिकाले आफ्ना साथीको उदाहरण दिएर उनिहरूको जीवनशैलीसँग हाम्रो दैनिकीको तुलना गरेको मलाई पटक्कै मन पर्दैनथ्यो ।

मेरा तीन जना भाइहरु छन् । सबैको बिवाह भयो । सबैले आ—आफ्नो गरेर खाउन् भनेर बाले गाउँको घर र जग्गा आँफुलाई पुग्ने गरी राखेर हामीलाई बाटामा परेका केही टुक्राहरू र केही खेत बाँडीदिनुभयो । मलाई त्यो खेत र जग्गा निकै प्रिय लाग्थे । हाम्रो नाममा सर्ने बित्तिकै राधिकाले यसलाई बेच्ने कुरा निकालिन् । मैले यसलाई कुनै बहशनै नगरिकन हुन्न भनेँ । उनी कहिल्यै पनि त्यो गाउँमा गएर बस्न नसक्ने र त्यो असभ्य समाजको हिस्सा हुन नचाहने भन्ने टिप्पणीले मलाई झनै चोट पुर्यायो । राधिकाको सोच यति तलसम्म पुग्दैछ भनेर मैले सोचेको पनि थिइन । उनी पढाइमा लागेर केही काम पनि गर्न थालेका भए, शायद यस्ता नकरात्मक सोचहरूले स्थान पाउँदैनथे । मैले उनीलाई उनका साथीहरूसँग भेटघाट गर्न रोक लगाउन पनि मिल्दैनथ्यो ।

राधिकाका आबश्यकताहरु बढ्न थाले । उनलाई अलिकति आराम मिल्छकि भनेर मैले हाम्रो ३ आनाको घडेरी छ भन्ने कुरा उनीसँग बाँडे । उनीले यसलाई पनि झन् नकरात्मक रुपमा लिइन् । आफ्नी श्रीमतीसँग पनि कुरा लुकाउन सक्ने मान्छेको के भर आदि इत्यादी शंकास्पद प्रश्नहरुको घेरामा बाँधिन थालेँ म । घरमा सधैँ चर्काचर्की हुन थाल्यो । सपना स्कुल जान थालीसकेकी थिइ । मलाई उसको मनोबिज्ञानमा चोट पुग्ने भयो भन्ने डरले, राधिकाको गाउँको जग्गा बेच्ने प्रस्तावलाई मन नलागि नलागि स्विकारेँ । गाउँको ढोका यसरी बन्द गरेको कुरा बालाई मात्र होइन मलाई पनि एउटा गहिरो चोट लागेझैँ दुखिरहेको थियो । गाउँसँगको सम्पूर्ण सम्वेदना टुटिरहेको आभाष हुँदै थियो । बल्ल तल्ल सबै बेच्दा पाँच लाख जति भयो । सन्ताउन्न सालमा गाउँमा त्यती पैसा पर्नु भनेको पनि धेरै थियो । मलाई लाग्यो तिन कोठोको तल र दुइटा कोठा माथि उठाएर एउटा ठिक्कको बराण्डा भएको घर बनाउँ । राधिकाकोे मन यहाँपनि उचालियो । उनीलाई कसले उकासिदियो । घर तिन तले बनाउने र बैठक, पिँढी र भर्याङमा मार्बल ओच्छ्याउनु पर्ने । कोठामा कार्पेट । भुइँतला भाडामा दिएपनि उनको कुरा अत्यन्तै असान्दर्भिक थियो । मैले लामो शास फेरेँ । राधिकाको यस्ता व्यवहार बढ्दै गयो भने जिन्दगी कसरी चल्ला ? मन निकै असन्तुलित हुन थाल्यो । राधिका यस्ता घरयासी मन मुटावको प्रभाव छोरी माथि पर्ला भन्ने कुरामा पटक्कै सचेत थिइनन् । राधिका बरु उनको बुवा सँग दुइतिन लाख पैसा सापटी माग्ने तर घर उनले भने जस्तै हुनुपर्ने कुरा मा दृढ रहिन् । उनका साथीहरूका श्रीमान केही अधिकृत थिए र केही भ्रष्टाचार गर्न नहिच्किचाउने खालका थिए । केही ब्यापारी थिए । उनको तुलता म सँग गर्न खोज्नु राधिकाको अपरिपक्क र पटक्कै नसुहाउने मनोदशा थियो । छोरी ठूली हुँदै गई । तर हाम्रो सम्बन्ध लोग्ने स्वास्नीको जस्तो हुन छोडेको केही बर्ष भइसकेको थियो । हाम्रो सम्बन्धमा पहिले झैँ सेक्सको रोमाञ्चकता थिएन । हामी छोरी नभएको मौका, अथवा एकान्त खोजेर एकअर्कामा समाहित हुने, एक अर्कासँग जिस्किन कुराहरू अस्वाभाविक हुन थाले । मैले अर्को बच्चा जन्माउने कुरा मनबाट निकालिदिएँ । त्यो मेरोलागि अर्को जोखिम उठाउनु झैँ लाग्न थाल्यो ।

हामीले घर बनाउन थाल्यौँ । जग्गाको प्रकृति अनुसार तीन तले घर उपयुक्त थिएन । मिलाउँदै जाँदा मात्र पौने तीन आना जग्गा देखियो । ठेगदारलाई बिश्वास गरेर काम सुम्पिँदा घर राम्रोसँग नबनेको भान भइरहेको थियो । मैले कामबाट फुर्सद पाउँदिन थिएँ । घरले न राम्रोसँग पानी पाएको थियो न त सिमेन्ट । राधिकाले सबै राम्रो भइरहेको छ भनेर टाउको हल्लाउँथिन् । म हप्ताको एकचोटि गएर कराउँथेँ । राधिकाले गुणस्तरमा तल पर्नु परे पनि देख्दा मार्वल र कार्पेट हुनै पर्ने किसिमको अडान ठेकदारलाई दखाएपछि ठेकदारलाई मैले गाली गर्न छाडिदिएँ । छोरी आठमा पढ्ने भइ । राधिकाको घर गएको बर्ष तयार भयो । मैले यसलाई हाम्रो घर भन्न छोडिदिएँ ।

“मैले माइतबाट पैसा नल्याएको भए, र यति मेहिनेत नगरेको भए, यो घर कसरी बन्थ्यो र?”, राधिकाले बेला बेलामा यस्ता वाक्यांशहरु आफ्नो संवादमा मिसाउन थाले पछि मलाई झनै नमजा लाग्न थाल्यो । उनको चित्त बुझाउनलाई भएपनि मैले यो तिम्रो नै देन हो भन्न थालेँ । हाम्रो घर हाम्रो नभएर राधिकाको घर भयो । यो घरमा मेरो जिन्दगी मिसिएको थियो । मेरो गाउँको सम्पूर्ण जाय जेथा मिसिएको थियो । राधिकाको बाले मात्र एकलाख मिसाउनु भयो, र त्यो पनि मैले लगभग चुकाइसकेँ । भनौँ भने यो घर मात्र मेरो मिहिनेत को उपज थियो । यो घर राम लम्सालको हुनु पर्ने थियो । तर मलाई मेरो भन्दा हाम्रो भन्ने अनुभूति भित्र्याउनु पर्ने थियो घरमा, अफसोच त्यो कहिल्यै भित्रिएन । सपनाले स्कुल सकेपछि आमालाई सम्झाउन सक्ने हुन्छेकि भन्ने आशा छ अलिकति । मेरा अनेक कोशिसहरू खेरा गइसके । अब पचास छुन लाइ सकेँ । जवान जिन्दगीको स्पर्श नगरिकन पचास लाग्ने भएँ ।


राधिकाले अगिल्लो हप्ता अर्को नसुहाउँदो प्रस्ताव राखिन । यो घर उनको नाममा पास गर्नुपर्ने भयो । मैले किन भनेर सोध्न नपाउँदै उनले मलाई बिश्वास गर्न छोडेको र शायद उनीलाई छोड्न पनि सक्ने हुनाले उनलाई यो घर पास गरेर नदिए, माइत गएर बस्ने र छोरीलाई पनि उतै राखेर पढाउने कुराको खुलासा भयो । यहाँ निर मैले हरेश खाएँ । आफ्नै जिन्दगीबाट, आफ्नै सम्बन्धबाट । म मात्र हो कि अरु पनि यस्तो परिस्थितिबाट गुज्रिन्छन् ? प्रश्न गरेँ आफ्नै विवशतालाई । मलाई झै झगडा र छोरीबाट टाढा हुने कुरा भन्दा, राधिकाको घरको लालपुर्जा उनीलाई नै सुम्पिँदा मनमा सन्तोस मिल्ने कुरा प्रति दुबिधा थिएन । म यो घरमा यसकारण पनि छु किनकि यो मेरी छोरी सपना बस्ने घर हो ।

घरमा सरेको ठिक पाँचमहिना भएको र शनिवार पनि परेकाले दक्षिणकाली जाउँ भन्न थालिन् राधिकाले । त्यो पनि उनका साथीहरु जाने भएकाले । म शायद श्रीमानको स्थानमा ठिंग उभिनु पर्ने थियो । संवेदनाबिहिन सम्बन्धको परिचय बोकेर, एउटा अभिनेता जस्तै । मलाई जान मन थिएन । किनकि म हरेक शनिवार सपना सँग बिताउन मन पराउथेँ । उसका हप्ताभरीका अनुत्तरित प्रश्नहरू र जिज्ञासाहरू मलाई पर्खिरहेका हुन्थे । बैँकबाट पनि अलिकति लोन लिएको थिएँ र राधिकाको बाको ब्याज सहित जोडेर अझै पचासहजार तिर्न बाँकि थियो । बैँकको हिजो मात्र तिरेर सकेँ । यसका लागि मैले कामसकेर केही प्राइभेट क्लासहरू लिन्छु ।


राधिका तलबाट चिच्याउन थालिन् । मैले सपनालाई पनि मन्दिर जान आग्रह गरेँ । सपनाले उसको होमवर्क धेरै भएकाले घरमै बस्छु भने पछि, हामी ट्याक्सीमा दक्षिणकाली तिर लाग्यौँ । ट्याक्सी बीच बाटोमै हल्लिन थाल्यो । एक्कासी मान्छेहरू चिच्याउन थाले । हामी ट्याक्सी बाट बाहिर निस्किएर खुला ठाउँतिर दोडियौँ । दौडिँदा दौडिँदै लड्यौँ । हामीले भर्खरै एउटा शक्तीशाली भूकम्पसँग साक्षात्कर गर्यौँ । मेरो होश उड्यो । मैले सपनालाई सम्झिएँ । मैले राधिकाको ख्याल गरिन, उनलाई त्यत्तिकै छोडेर बाट् बाटै दौडिएँ । वरिपरीको चित्कार घर ढलेको आवाजलाई देखेको नदेखेझैँ गरि, सुनेको नुसुनेझैँ गरि म एउटा म्याराथुन धावक झैँ दौडिरहेँ । म हाम्रो घर अगाडि गएर पछारिएँ । हाम्रो घर पनि पछारिएको थियो । छेउका अरुघर पनि ढल्किएका थिए ।


“राम बाबु, राम बाबु !”

हाम्रो घरको छेउमा चिया बेच्ने कृष्ण दाइको धमिलो अनुहार देखेँ । थाहा पाएँ, मैले केहीबेर होश गुमाएछु । तर त्यसपछि मैले होश गुमाउनु परेन । मेरो अगाडि सपना उभिएकी थिई । म चिच्याएँ, बच्चा झैँ रोएँ । सपना पनी रोइ । उसलाई घरको माया लाग्यो । मेरो सबै भन्दा ठूलो सम्पत्ती जोगियो । सपना स्टेशनरी सपमा पेन्शील लिन घरबाहिर निस्किएकी रै छ । तल्लो तलामा भाडामा बस्ने दुबैजना बाहिर निस्किएको मौका परेछ । लामो शास फेरेँ यो घरले कसैलाई चोट पुर्याएनछ । सपनाले ममी खोइ भनेपछि बल्ल राधिकाको याद आयो । फर्केर हेर्दा राधिका पनि दौडिदैँ हामी तिर आइरहेको देखेँ । उनी पनि सपनालाई अंगालो हालेर रोइरहिन् । म भगवान प्रति आभारी रहेँ । एक्कासी गाउँको घर र बा आमा सम्झेँ । कतै फोन लागेन । सोसियल मिडियाबाट घरतिर सबैजना आराम रहेको खबर मिल्यो । पछि फोनपनि लाग्यो । त्यसदिनपछि हामी अफिसको चौरमा पाल टाँगेर बसिरहेका छौँ । राधिका नतमष्तक छिन् । मौन छिन् । बोली फुटेको छैन । मैले भनेको कुरामा टाउको हल्लाइरहेकी छन् । बाले बिहान फोन गर्नु भएको थियो । आमाको नाममा भएको एउटा सानो जग्गा भाइहरुको मञ्जुरीमै मलाई यसपाली सहयोग होस् भनेर बेच्ने निर्णय गर्नु भएछ । मैले राधिकालाई सोधेँ । उनको जवाफ स्वाभाविक भएर पनि अस्वाभाविक लाग्यो । आशा गरे भन्दा निकै फरक । उनले मलाई एक्कासी अंगालो हालेर रुँदै क्षमा मागिन् । गाउँको जग्गा नबेच्ने आग्रह गरिन् । बाटो खुल्ने बित्तिकै हामी स्यांगजा तिर लाग्यौँ । त्यहाँ केही दिन बस्ने र सल्लाह गर्ने निधो भयो । बाटोमा बिभत्स दृश्यहरू हामीलाई पर्खिरहेका थिए । राधिकाले मेरो हात समाइरहेकि थिइन् । मानौँ मैले मेरो जिन्दगीभरीको मेहिनेत गुमाएर मेरी श्रीमती पाएको थिएँ । घर हुँदा हर निमेश भुँइचालो जान्थ्यो । सम्बन्ध काँपिरहेको थियो । अहिले महा भूकम्प आयो । घर अडिन मानेन, तर राधिकाको भुइँचालो थामियो । राधिका यात्राभरी रोइरहीन् ।

मेरो मन् भारी भयो । उनलाई अंगालोमा कस्दै भनेँ,

“राधिका, तिम्रो घर म हुँ, म ढलेको छैन, हाम्रो सपना हाम्री छोरी हो, उ भत्किएकी छैन, हामीले केही गुमाएका छैनौँ” !

राधिका झन् रुन थालिन् । राधिकाको पश्चाताप आँसु भएर बगिरहेको थियो । लाग्यो बगिरहोस् । उनको मनमा कतै पश्चाताप नरहोस् । मात्र मायाँ र सद्भाव बाँकि रहोस् ।

Comments

You may like this