२०६० सालतिर म पृथ्वीनारायण क्याम्पसमा विज्ञान संकायको तेस्रो वर्षमा अध्यनरत थिएँ, जीव विज्ञानको विद्यार्थीका रुपमा। ल्याबोरोटरीमा प्राक्टिकल क्लासका लागि छिर्दा सिसाको बोत्तलहरूभित्र फरमलडिहाइड र अन्य रसायनभित्र डुबाएर राखिएका चराहरू, सरिश्रृप, पुतली र अन्य जीवजन्तुहरूले मलाई तर्साइरहन्थे। म शाकाहारी पनि थिएँ। गँड्यौलाको डाइसेक्सनसम्म त्यती गाह्रो थिएन, किनकि हामीले खेतमा गँड्यौलाको हत्या र दाहसंस्कार कति ग¥यौं कति! तर, त्यही जाबो गँड्यौलालाई चिरेर भित्रि अंगहरूको अध्धयन गर्नुपर्छ भन्ने कुरा आइएस्सी पहिलो वर्षमा मात्र थाहा पाइएको थियो। त्यसपछि साङ्ले किरा र भ्यागुतो काटियो। म खुसी थिएँ कि, मैले खरायो र मुसा काट्नु परेन। तेस्रो वर्षमा हामीले केही पुतलीहरूलाई छोप्नु थियो। अन्तिम परिक्षामा त्यसको पनि नम्बर जोडिन्थ्यो। पुतलीलाई छोपेर जिउँदै ल्याउन पाएको भए पनि रमाइलै हुन्थ्यो। तर, सरहरूले पुतलीलाई जालीभित्र कसरी पार्ने भन्ने सिकाए। हलुका गरी पुतलीको टाउकोमा अँठ्याएर पुतलीलाई कसरी बेहोस बनाउने भनेर सिकाए। त्यसपछि काठ मेसिनमा गएर बनाउन लगाएको काठ र सिसाको फ्रेमको पिँधमा ठोकिएको प्लाइबोर्डमाथि ओछ्याइएको फममा पुतलीलाई राखिन्थ्यो र माथि पुतलीको शरीरको माझबाट पिन गाडिन्थ्यो। त्यसपछि ती पुतलीहरू कहिल्यै उडेनन्। मलाई निकै सकस हुन्थ्यो। म आफैंलाई सोधिरहन्थेँ, के यसो गर्नु आवश्यक छ?
भर्खर–भर्खर डिजिटल क्यामेरा आएको थियो। हामीले विद्यार्थीको हैसियतमा त्यसलाई ‘एफोर्ड’ गर्न सक्दैनथ्यौँ। मेरो चाहना थियो कि, त्रिभुवन विश्वविद्यालयले यसरी जीवजन्तु मार्ने काम हामीलाई नगराओस्। बरु क्यामरा उपलब्ध गराओस् र हामीलाई फोटो खिचेर ‘स्पेसिस’को वर्गिकरण गर्न लगाओस्।
अन्नपूर्ण संग्रहालयले स्पेसिसको ट्याक्सोनोमीका लागि सहयोग गर्दथ्यो। नामाकरण र वर्गिकरणपछि पुतलीहरूलाई जीव विज्ञानको प्रयोगशालामा राखिन्थ्यो। क्याम्पस मातहतमा रहेको संग्रालयभित्र अन्नपूर्ण आधार क्षेत्रका प्रायः सबै पुतली र अरु जीवहरू पनि संग्रहित थिए। केही साथीहरूले त सर्प र भ्यागुता पनि मारेर ल्याउँथे र सरको स्यावासी पाउँथे।
एकदिन संग्रहालयअगाडिको भानुपार्कमा साथीहरूलाई कुरिरहेको थिएँ। गोविन्दले एउटा चमेरा ल्याएछ। कालो प्लास्टिकभित्रको कालै चमेरो पनि अब फरमलडेहाइडमा डुबेर बस्ने भयो। मलाई त्यो रसायनको गन्ध र स्पेसिसलाई संग्रहित गर्ने यो तरिका दुवैले टाउको दुखाउँथे। त्यती नै खेरसमयले साथ दियो भने फोटोग्राफीका लागि पनि समय छुट्टाउँछु भन्ने अठोट गरेँ।
फोटाग्राफीलाई कहिलेकाहीँ मात्र समय दिन सके पनि म जहिले भ्याउँछु त्यती नै खेर क्यामेरा लिएर निस्किन्छु। मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ, तर गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर। समुद्रको नुनीलो पानी पिउन नसकेर समुद्र किनारकै बन्द धारामा तिर्खाएर हेरिरहेका चराहरू पनि भेटेँ। लाग्यो, हाम्रो र चराहरूको संवेदना पनि मिल्दो रहेछ। हामी सबै तीर्खा मेट्न त उडेका हौँ! नेपालको काग, यता पनि काग जस्तै देखिन्छ तर, यताको कागको भाषा पनि गोराहरूको जस्तौ भाषा बोल्छ। सिक्नै पर्ने। स्वरभित्र पनि अंग्रेजी ‘एक्सेन्ट’ मिसिएझैँ। कागको आवाज त नेपालमा पनि कोइलीको जस्तो सुनिएको होइन, तर किन हो यताको कागको आवाज सुनेपछि गाउँघरकै कागको आवाज सुरिलो थियो कि झैँ लाग्छ।
गज्जब हुन्थ्यो होला है, यी चराहरूको पनि भाषा सिक्न पाए! यिनीहरूका पनि कथा सुन्न पाए। हाम्रा केही हुल कागहरूलाई पनि बोइङमा चढाएर यतातिर छोडे कस्तो हुन्थ्यो होला? आकाश त यता पनि छ। के बाँच्नका लागि आकाश र धर्ती मात्र भए पुग्छ? गएको वर्ष मात्र सिड्नीमा तीन नेपालीले आत्महत्या गरे। सायद, तिनीहरूलाई पनि पुगेन होला, धर्ती र आकाशले मात्र। कति चराहरू अरब कतारको बालुवामा फत्फती गलिरहेका छन्। ठाउँ कुठाउँ ढलिरहेका छन्। कहिलकाहीँ लाग्छ, राइट दाजुभाइले किन जान्ने भएर जोडिदिए होलान् जहाजमा पखेटाहरू? मान्छेलाई किन बनाइदिए होलान् चराहरू? मान्छे यती भाँती दुःखी हुँदैनथ्यो कि!
ऊ मान्छे बाट चरा नभएदिएको भए!
आमा हाँसहरूले नानी हाँसहरूलाई समुद्र किनारमा हिँड्न सिकाएको देख्दा मन कटक्क हुन्छ। हिँड्न नजान्दा त हामी पनि आमासँगै थियौँ। बासँगै थियौँ।
एउटा खुट्टा गुमाए पनि पखेटा नगुमाइन्जेल उड्न नछोड्ने चराहरूलाई पनि भेटेँ। लाग्यो, चराहरू पनि हामीजस्तै महत्वाकांक्षी हुँदा रहेछन्। यिनै चराहरूलाई हेर्दै लेखेको हुँ, कविताका यी हरफहरू पनिः
‘बालाई
उड्दै गरेका चराहरू मन पर्दैनन्
र, पनि
बाकै तालुमा बिस्ट्याउँदै
चराहरू उडिरहेकै छन्।
बालाई लाग्छ
यिनै चराहरूले भनिदिए होलान्
उडेपछि आकाश अझै फराकिलो देखिन्छ।
बा बर्बराइरहन्छन्
यी चराहरूले
किन सन्तानहरूलाई फर्किन सिकाएनन्?’
(‘बा बर्बराइरहन्छन्’ कविताभित्र बाट)
साभार : सेतोपाटी
Comments
You may like this