धर्तीको रजस्वला

नारीलाई धर्ती मान्दै आएको छ समयले। धर्तीको रजस्वला हुनु भनेको, सुक्खा धर्ती ओसिलो हुनु हो। सृष्टीको निरन्तरताका लागि एउटा भगवान छ होलाझैँ लाग्छ। मात्र एउटा भगवान। त्यो भगवानको आस्था कमजोर हुन नदिन परापूर्वकालदेखि नै विद्वानहरूले वेद, पुराण र गीताजस्ता ग्रन्थहरूको परिकल्पना गरे होलान्। यिनीहरूलाई महान साहित्यिक ग्रन्थ भन्दा पनि हुन्छ। तर, हामीले त्यसलाई परिमार्जित गरिरह्यौँ, आ—आफ्ना स्वार्थका लागि। दमनका लागि। अन्धो आस्थाका लागि।

ब्रम्हाजी पनि त्यही आस्थाभित्रको एउटा चरित्र होलान्। जसलाई हामीले भगवानमध्येको एक भन्दै पुज्दै आयौं।

के होला? तिनै ब्रम्हाजीको पनि रजस्वला भयो भने?

एउटा केटी जब आइमाई हुने यात्रामा निस्कन्छे, त्यो यात्राको एउटा महत्वपूर्ण प्रारम्भ हो रजस्वला। ब्रम्हाजीलाई कविले किन उठ्न आग्रह गरिरहेका छन्, त्यो कविलाई नै थाहा होला। कविले ब्रम्हाजीलाई भगवान ठानेका भए, भगवान अब तिमी आफैं रजस्वलालाई अनुभूत गर भन्न खोजिरहेका होलान्।

रजस्वला हुनुलाई एउटा उत्सवको रुपमा मनाउनु पर्नेमा एउटा अवोध केटीलाई उसको जिन्दगीको दुर्भाग्यको सुरुवात भएको अनुभूति गराइन्छ। जसलाई रगतको रङ रातो हुन्छ भन्ने थाहा छ तर रगतको विज्ञान समेत थाहा छैन। रगत बगेको थाहा छ तर बग्दाको दुःखाइको कारण थाहा छैन। एउटा नारी जब जिन्दगीको रङ बगाइरहेकी हुन्छे, उसलाई गोठको अँध्यारोमा लगिन्छ र उसका रङहरूलाई कैद गरिन्छ। उसैलाई भनिन्छ, तैँले घाम देख्नु हुँदैन। कस्तो विडम्बना, त्यहाँ प्रश्नहरू हुँदैनन्। त्यहाँ उत्तरहरू हुँदैनन्। तर घाम हुन्छ, पर्खिरहेको छाउगोठ बाहिर।

ब्रम्हाजी नहुन सक्छन्, तर घाम प्रकृती हो। ब्रम्हाजी असत्य हुन सक्छन्। घामको उपस्थिति सत्य हो। घरि घरि घाम पनि गोधुलीमा अचम्म रातो भइदिन्छ। मानौँ, घाम होली खेलिरहेछ। मानौं, घामसँग पनि फराकिलो धर्ती छ। मानौं, घाम आफ्नो धर्तीमा रजस्वला भएको हर्ष मनाउँदैछ। त्यती नै बेला हाँस्यो होला घाम, आफ्नो अनुहारमा डिम्पल पर्ने गरी। घाम आफ्नो डिम्पल परेको अनुहार त्यो गोठभित्रको कैद अनुहारलाई हरेक बिहान देखाउन चाहन्छ। ए मान्छेहरू! हामी कहिलेसम्म लगाइरहने घाम छेक्ने पर्खाल?

किन होला एउटा धर्तीले अर्को धर्तीलाई नचिन्ने? हामीले कस्तो संस्कारको सृजना गर्यौँ? किन दुःख ले दुःखलाई चिन्दैन। कसले छरिदियो यो प्रथा? कसले रोपिदियो यो त्रास? यो आमाको दोष त पक्का होइन, कि आमाले आफ्नै छोरीलाई छाउगोठमा पठाइन्? ब्रम्हाजीको ऐना सायद हाम्रो समाज हो। सायद कविले ब्रम्हालाई ऐना हेर भनिरहेका छन्। ब्रम्हाले ऐनाभित्रबाट नै सही, जीवनको सृष्टी बग्ने सिन्दुर देखिदिउन् र बजाउन खुसीयालीको सहनाइ। कविलाई आशा छ, यसरी पो ब्युँझिन्छ की समाज!

पसिना, आँसु र रगत यी सबै पानी हुन्, जीवनका छिद्रहरूबाट रसाउने पानी। रजस्वलाको रङ पनि रातो नभइदिएको भए, स्वीकार्य हुने थियो होला सायद हामीलाई। रङहिन पानीलाई त हामीले स्वीकारिरहेकै छौँ। कोठा, आँगन, पिँढी जताततै बगे पनि। त्यो दुर्गन्ध भन्दा किन दुर्गन्धित भयो रजस्वला? हामीलाई किन त्यति नै खेर मन नपरेको रातो रङ। अरु बेला त हामीलाई रातैले ढाकिनुपर्छ। ब्रम्हाजी यदि तिमीले नै बनाएका हौ यो सृष्टी भने, मेरो पनि एउटा अनुरोध छ। पुरुषको विर्यको रङ पनि रातै बनाइदेउ न है!

मलाई थाहा पाउन मन छ, गोठमा बगेको रगतलाई त्यतीखेर चिन्ला कि नचिन्ला मान्छेले। गोठमा रगत बगाउनेलाई झम्टिएला कि नझम्टिएला मान्छेले?

देवी देवताहरू मेरा लागि पात्रहरू मात्र हुन्। भगवान को हुन्? कस्ता छन्? भगवान छन् कि छैनन्? भन्ने कुरामा घोत्लिनु भन्दा अलि अगाडि मलाई मान्छेहरूसँग गुनासो छ। हामी पनि सृष्टी गर्छौं, मानिस भएर मानिसकै।

मानव जीवनको एउटा अध्याय बोकेर रजस्वला भएकी युवती कतै जानैपर्छ भने, छाउगोठ होइन, मन्दिर जान पाउनुपर्छ।

ब्रह्माजीको रजस्वला

- नवराज पराजुली

आमा!
मलाई फेरि रजस्वला भएको कुरा
ऊ त्यो घामले पनि थाहा पाएछ,

नपत्याए हेर त
मलाई हेरेर मुस्कुराउँदा
घामको गालामा डिम्पल परेको!

घामबाट आएका किशोरी किरणहरु
सबैभन्दा पैले मेरो ओठमा देउडा खेल्छन्
अनि मात्र
कोपिलाको ओठमा गएर आराम गर्छन्

अनि मात्र
रजस्वला हुन्छ कोपिलालाई

अनि मात्र यहाँका फूल मुस्कुराउँछन्

तर,
तिमी किन मुस्कुराउँदिनौ आमारु

हरेक महिनाजस्तै यो महिना पनि
बाका कुच्चिएका नियमहरुले बनेको उध्रिएको बोरामा
मेरा कुच्चिएका भाँडाकुँडा र उध्रिएका लुगाहरु
किन पोको पार्दैछ्यौ?

‘मलाई
ऐले जति मेरी आमा कैल्यै चाहिएको थिएन’
यो खबर
मेरा आँखाले तिम्रा ओठमा पठाउँदै छन्
तिमिचाहिँ मलाई छाउगोठमा पठाउँदैछौ?

म त तिम्रो भाग्य हुँ आमा!

तिमी आफ्नै भाग्यलाई कसरी पठाउन सक्छ्यौ त्यो गोठमा
जहाँ,
भाग्य लेखिएको निधार ठोकिन्छ कि भन्ने डरले
हावा पनि टाउको निहुराएर मात्र छिर्छ!

म त तिम्रो छाया हुँ आमा!

तिमी आफ्नै छायाँलाई कसरी पठाउन सक्छौ त्यो गोठमा
जसबाट
फेरि जिउमा फर्किनै सकिन्न कि भन्ने डरले
घामको छायाँ पनि आधा मात्र छिर्छ
र आधा छायाँ पाँच दिनसम्म गोठबाहिरै कुरिबस्छ!

तिमीलाई त थाहै छ आमा
यस्तोबेला पेट यस्तरी पोल्छ
लाग्छ पेटमा आगोको तातो भुङ्ग्रो छ
र, कसैले त्यो भुङ्ग्रोमा
ढुंग्रीले लगातार हावा फुकिरहेछ

तिमीलाई त यो पनि थाहा छ,
यस्तो बेला कम्मर यस्तरी दुख्छ
लाग्छ शरीर कम्मरमा भाँचिएर दुई टुक्रा भएको छ
र कसैले शरीरका ती दुइटा टुक्रालाई
चप्पलको चुँडिएको लोती टुकीमा पगालेर जोडेझैं
आगोमा पगालेर जोड्न खोज्दैछ

तिमीलाई त यो पनि थाहा छ, आमा
जब बर्खा लाग्छ छाउगोठमा,
गोठको छानो भत्किएर चुहिने पानी
यी आँखा भत्किएर चुहिने आँसु
र यो जिउ भत्किएर चुहिने रगत
सँगसँगै बग्छन्

जब गर्मी लाग्छ त्यो गोठमा,
यी लुगै पग्लिएर चुहिने पसिना
यी आँखै पग्लिएर चुहिने आँसु
र जिउ नै पग्लिएर चुहिने रगत
सँगसँगै बग्छन्

तर जब जाडो लाग्छ त्यो गोठमा
रगत मात्र एक्लै बगिरहन्छ
आँशु बग्दैन
.
.
.
जम्छ!

हरेक महिना
वर्षौंदेखि
लाखौँ नारीहरुले
करोडौंचोटी
अरबौँ रातहरु काटिसके त्यो चिहानमा
आमा मलाई भनिदेउ त देउता कैले प्रसन्न भए?

परारको साल देउता यति प्रसन्न भए कि
ती स्वर्गका हिरोहरु पहिरो भएर आए,
अनि सुत्केरी देउकुमारी काकी
र उहाँको आठ महिनाको छोरोलाई गोठमै पुरेर गए

यी शिलाका देउता प्रसन्न हुने सिलसिला
अब कैलेसम्म चल्छ आमा?


पोहोरको साल देउता झन् यति प्रसन्न भए कि
उनीहरु अलकापुरीको रक्सीमा पुरिएर आए,
अनि गोठमा एक्लै सुतेकी मनमाया दिदीको तनलाई
गोठभित्रै
रातभरि
पालै पालो
केराको पातलाई झैं उधारेर गए।

यी तस्बिररका वीर देउता प्रसन्न भएपछि
अरु के के गर्न मिल्छ आमा?

यो गाउँभरीका मान्छेको
दिमागको फोहोर पखाल्न नसकेको यो धारामा
मैले
फोहोर भएको मेरो शरीर पखाल्दा
देवी मसँग रिसाएर
भोलि मेरा पतिको आयु घटाउँछिन् भने
अब त म हेर्छु हेर्छु
कुन रङकी देवीले मेरो सिउँदोको रङ पखाल्दिरैछिन्!

यी देवीहरुकोचाहीँ रजस्वला हुन्छ कि नाइँ?

बाले छी: भनेर छोडेको बाच्छी
गाई हुन्जेलसम्म
मैले कष्टले हुर्काएको गाईको दुध
आज आफूलाई कष्ट भएको बेला मैले पिउँदा
देवी मसँग रिसाएर
भोलि मेरो कोख बाँझो बनाउँछिन् भने
अब त म चिन्छु चिन्छु
कुन सन्तान जन्माएकी देवीले मलाई निःसन्तान बनाउँदिरैछिन्!

यी देवीहरुको चाहीँ रजस्वला हुन्छ कि नाइँ?

आमा, ऊ हेर त
मलाई छोएपछि फुलेको घामले
सारा गाऊँलाई छोइसक्यो

ऊ सुन त
आफु कुनै दिन मेरो छोरो भएर जन्मन पाउने खबर
घामले सारा सुनाइसक्यो होला

तर जाउ आमा
बालाई भन्देउ स्
‘पहिले हरेक महिना
मेरी हजुरआमाको शरीर ‘बाट’ रगत बगेकाले मात्रै
अहिले हरेक पल बाको नसा ‘मा’ रगत बग्दैछ।’

र यति कुराचाहीँ
बा को कानैको छेउमा गएर भन्दिनु
‘भर्खरै रजस्वला भएकी तिम्री छोरी
गोठ हैन मन्दिर गएकी छे
देउतासँग एउटा अनौठो वरदान माग्न
‘हे लोग्ने मुन्ठेका देउता!
यो संसारका सारा नारीको रजस्वला
आजैबाट
सधैंका लागि बन्द होस्।'

ब्रह्मा जी!
ओ ब्रह्मा जी!!
उठ्नुहोस्!!!
अब छिट्टै तपार्इंको
पहिलो रजस्वला हुँदैछ!

साभारः सेतोपाटी

प्रकाशित मिति: शनिबार, बैशाख ९, २०७४ 

Comments

You may like this