सर्प नभएको कथा

 कार्लीले उसकी छोरीले घरमा सर्प लिएर आएको कुरा गरि । त्यो पनि पाइथन । पेट एनिमलको रुपमा । कार्लीले पाइथनलाई पाहुना बनाउन सकेको कुरै सुन्दा पेट बटारियो । कार्ली प्रति माया लागेर आयो । संसारकी साहसी छोरीकी महान आमा । यो मेरो कमजोरी हो कि मेरो सर्पप्रतिको धारणानै बिशाक्त छ । सर्पको विष जत्तिकै विशाक्त । अब तपाईंहरूले भन्नुहोला मैले सर्पलाई गर्ने यति विघ्न घृणाको कारण त पक्कै होला । छैन । कत्ति पनि छैन । घृणा पनि गलत शब्द हो । यो मेरो डर हो । आउनुस् म तपाईंलाई म र मेरा सर्पका काँचुली सँगै मेरो सुदूर बाल्यकालमा छोडिएका केही सम्झनाहरूसँग यात्रा गराउँछु ।

मेरो पहिलो सम्झना धमिलो छ । किनकि म निकै सानो थिएँ । तर मैले देखेको सेतो सर्पको रंगको सम्झना भने धमिलो छैन । सेतो कपासको जस्तै रंग । बीचमा काला बुट्टाहरू पनि थिएनन् । घरकै कोठाको गार्होको ढुंगाका कापहरूबाट सल्बलाउँदै हरायो । ममीले दियो बाल्नु भयो । घरको टायल कारखानामा काम गर्ने कामदारहरूले खोजेर मार्न तम्सिए । हाम्रो घरमा सर्प मार्न मनाहि थियो । बुवाले धपाउनु मात्र भन्नु भयो ।

त्यसपछि म शायद छ–सात कक्षामा पढ्दा होला । मैले ठूली भैँसीलाई पानी खुवाउन गोठको ढोका खोलेँ । गोठको ढोका फिलिमपत्ताको थियो । खोल्नै बित्तिकै सर्प गोमनको सिग्नेचर पोजमा ठडिएको थियो । त्यसपछि ढोका तानेर आगन तिर बत्तिएँ । त्यसपाली पनि सर्प मारिएन । धपाइयो । त्यस ताका लाग्यो, हाम्रा बा अगिल्लो जन्ममा सर्पका राजा हुनुहुन्थ्यो होला । नत्र त सर्पको यति भाँती माया किन गर्नुहुन्थ्यो ।

त्यसको केही समयपछि छिमेकी काकाको भान्छा कोठामा सर्प पस्यो । त्यसपटक सर्प बाँचेन । सर्प जिउँदै हुँदा सर्प हान्न तम्सिने एक दुई जना मात्र थिए । मर्नै लागेपछि भने बहादुरीका साथ सबैले हरियो निगालोले सर्पलाई चुट्न सम्म चुटे । म भने भीडबाट हेरीरहेँ । आगनमा रन्थनिएको सर्पलाई ।

त्यही बर्ष ज्योतिषले बालाई नाग लागेका छन् भनिदिएछन् । बाको हातको छालाले पनि काँचुली फेर्न थालेका थिए । पाप्रा पाप्रा उप्किन्थे । बालाई नागको मूर्ति बनाउन लगाए । बिरौटाका एकजना नेवार मूर्तिकारले ठूलो नागको मूर्ति बनाए । बाले भव्य पूजागाजाका साथ भजन गाउँदै गाउँको उचाइमा रहेको तिब्रेकोटको चुचुरामा मूर्ति लगेर राख्नु भयो । मलाई कस्सो नागको मूर्ति घरमा नबस्ने भयो भनेर भित्र भित्र खुशी लाग्यो । तर, त्यो खुशी केही दिनका लागि मात्र सिमित रह्यो । बाले त्यही मूर्तिको प्रतिमाका रुपमा त्यसकै प्रतिलिपी सानो आकारको मूर्ति तयार गर्नु भयो । यसो गरेपछि बाले दिनहुँ घरको मूर्तिलाई पुजा गरे हुन्थ्यो र तिब्रेकोटको मूर्तिलाई बर्षको एकचोटि नागपञ्चमीका दिनमात्र पुजा गरे पुग्थ्यो । त्यसदिन देखी हाम्रो घरमा सर्पलाई सर्प भन्न पनि पाइन छोड्यो । नाग देवता भन्नु पर्थ्यो र मात्र श्रद्धा गर्नु पर्थ्यो ।

त्यसपछि ठूलो हुँदै गइयो । परिपक्क हुँदै गइयो । सर्पका थुप्रै कथाहरू सुनिन थाले । गाउँमा कसैलाई हर्याऊ ले टोकेको खबर सुनिन्थ्यो । मधेस बसेका एक दुई जना त सर्पले डसेर मरेको कुरा पनि सुनिन थाल्यो । हरेक नागपञ्चमीका दिन बासँग तिब्रेकोटमा मै साथी जानु पर्थ्यो । मलाई त्यतीखेर नागको मूर्तिसँग होइन, जंगलको बाटोमा भेटिने चितुवाका पाइलाहरूले तर्साउँथे । ती पाइलाहरू बाघका होइनन् चितुवाका हुन् भनेर मेरो त्रासलाई नाग बाट चितुवामा सार्ने पनि बानै हुनुहुन्थ्यो । चितुवाको त्रास गाउँभरी थियो । कहिलेकाहीँ चितुवा गाउँतिरै बरालिन्थ्यो । थुप्र्रैका गोठबाट गाइका बाच्छा वा भैँसीका पाडा पाडी हराएका प्रसंगहरू पुराना थिएनन् ।

मैले एस.एल.सी दिएको बर्ष, बुवा आमा केही समय कोहलपूर बस्नु भयो । म पनि उतै लागेँ । मेरो दैनिकी गजबको थियो । रिजल्ट आइसकेको थिएन । भिनाजुको एटलस साइकलमा कोहलपुर बाट पिपिरी पुग्थेँ । मामा घर सम्म । उस्तै पर्यो भने नेपालगञ्ज पनि पुग्थेँ । अलिअलि पैसा भए बागेश्वरी हलमा हिन्दी फिलिम हेथेँ । त्यतीनैखेरको एउटा मध्यरात भने त्यती रमाइलो भएन । घरमा दिदी, म र ममी मात्र थियौँ । म खटीयामा सुतेको थिएँ । किनकी मलाई खाट भन्दा खटिया मन पर्थ्यो । मध्यराततिर मेरो पाइन्टमुनितिरबाट चिसो पसेजस्तो लाग्यो । खटियामा झुण्डिएको शरिरको बीचको भाग भिजे जस्तो लाग्यो । ममी र दिदीलाई पानीको लेभल बढ्दैन जस्तो लागेछ र मलाई पानी घटी हाल्छ खाटमा उभिएर बस भनेर कुनातिर जाने संकेत गर्नु भयो । तर पानी घटेन । घर पछाडि जंगल थियो । जंगलतिरको सबै पानी हाम्रै टोलतिरबाट पसेको थियो । मेरा लागि यो पहिलो बाढीको अनुभव थियो । तर ममी र दिदी सँगै भएकाले मलाई त्यती डरलागेको थिएन । यो साहश भने बाढीसँगै एकै निमेषमा बग्यो । जब देखिन थाले बाढीसँगै बगेर आएका सर्पहरू । ममीले मैले देख्छकि भनेर ढोका तिरै बस्दै हातल पानी पन्छाउँदै हुनुहुन्थ्यो । पानीको बहावको दिशा म तिर नसोझीयोस् भन्ने चाहना थियो । ममीले केही पटक हातले सर्पनै पन्छाएको देख्दा मभित्रको त्रासले उग्र रुप लियो । म काम्न थालेँ । दिदीले अब नडरा बाबु पानी बिदा भयो भन्न थाली । त्यो रात पानी त बिदा भयो । बाढी पनि थामियो । तर करिब दुई घण्टा हामी बाढीमा पर्यौँ । घर बगाएन । घरका केही भाँडाकुँडाहरू बगे । हामी बगेनौँ । भोली पल्ट उज्यालोमा पनि दुईटा सर्पहरू हिलोमा चिप्लेटी खेल्दै थिए । लाग्यो, शायद यिनीहरू पनि बेघर भए ।

मैले कार्लीलाई खाना खाइसकेपछि हकारेँ । किन छोरीलाई घरमा पाइथन राख्न अनुमती दिइस् भनेर । मानौँ त्यो घरमा म पनि बस्नु पर्छ । कार्लीले भनी, “सि डिडन्ट इभन टल्क टु मि अवाउट इट, सि जस्ट ब्रौट इट होम”। आमालाई सोध्दै नसोधिकन घरमा पाइथन ल्याउने छोरी विरामी पनि छ भन्ने थाहा हुँदा भने निकै दुःख लाग्यो । आफ्नी छोरीको खुशीका लागि घरमा पाइथनलाई पनि स्वागत गर्न सक्ने बाउ त म जिन्दगीमा हुन नसकुँला । मन मनै प्रार्थना गरेँ । मेरा छोरीहरूले नागदेवताको कथा नदोहोर्याउन् ।

कामसकेर घर फर्किएँ । सिड्नीको ट्राफिकले आजित बनाएर घरको ढोकामा थेचार्दा इराले ढोका खोल्छे र अलिकति फुर्ति आउँछ । म ढिलो आएँ भने इरा सुतिसकेकी हुन्छे । समयमै आएँभने, उसलाई सुताउँदै उसलाई मनपर्ने जंगलकै कथाहरू सुनाउन पाउँछु । मैले सँधै यसै भनेर कथाको शुरुवात गर्छु ।

“दियर वाज अ बिग जंगल”।
त्यसपछि मेरो कथा शुरु हुन्छ । त्यसपछि इरालाई कार्टुन चाहिँदैन । म उसलाई हाम्रो जंगलमा कंगारु, बाँदर, मात्रै छ भन्छु । तर उसलाई टाइगर र लायन मिसाएन भने कथा सनसनीपूर्ण लाग्दैन । र पनि मैले इरालाई जंगलको कथा सुनाउँदा कहिल्यै पनि भन्दीन कि जंगलमा सर्प पनि हुन्छ ।

(साभारः नेपाली पत्र अस्ट्रेलिया)

Comments

You may like this