मृत्यु तँ को होस् मलाई थाहा छैन ।
चिताबाट निस्किेको धुवाँ?
दुर्घटनास्थलको दुर्घटित जिन्दगी?
अकालमा सन्तान गुमाएर
तैँलाई सरापी रहेका बा–आमाको आँसु?
सर्भिसिङ गर्दै नगरिकनै उडिदिनु पर्ने
चरा हुन नसकेको
जहाजको बूढो इन्जिन र तन्नेरी पखेटा ।
बुढेशकालको मान्छे झैँ
घिस्रिन नसकेर पल्टिन खोज्ने
हजुरबाकै उमेरका इन्कन्टिनेन्ट गाडीहरू
मेरै आगन माथि टाँगिएको हाइ टेन्सनको
नांगो बिजुलीको तार?
अस्पतालमा छिर्न नपाउँदै मेरा अंगहरूको
स्थानान्तरण गर्छु भन्दै बसेको सर्जन?
चट्याङ?
बाढी?
पहिरो?
भूकम्प?
मृत्यु तँ को होस् मलाई थाहा छैन ।
थाहा पाइस् भने पनि के लछार्चस् भन्दै होलास्
तँ गरीबहरूको अगाडि धनी
र,
धनीहरूको अगाडि गरीब बन्दै होलास्
तँ जो होलास्, जहाँ होलास्
भेटेँ भने कतै अचानक
तैँलाई ग्रहण गर्दै गर्दा
अवसर पाएँ भने
मृत्यु तँलाई मुख छाड्ने छु ।
नरिसा है ।
छाड्न त मैले मेरो मिल्ने यारलाई पनि मुख छाड्छु।
सायद जिन्दगीको एउटा यार तँ पनि होलास् ।
मुजी मृत्यु !
– निष्प्रभ सजी
Comments
You may like this