पर्ख

बिहान भएको छ भने
घाम लागेको होला
झ्यालबाट
बार्दलीबाट
पिँढीबाट
आगनबाट
जहाँबाट मिल्छ
घामलाई अनुहारमा ठोक्किन देउ
आँखालाई निको नलाग्ला
आँखा बन्द गर
सखारै
घामको न्यानो नलिइकनै पो निस्कियौ कि तिमी
दुःखमा कामलाग्ला भनेर अलि अलि गरी साँचेको आफ्नै खुशीको मन दुखाउन
बिहानै घामको कोट नलगाइकनै पो निस्कियौ कि तिमी ?


तिमी भीडको बीचमा पनि हुन सक्छौ
कोलाहल मात्र भीडमा हुन्छ भन्ने भ्रम बोकेर
एकान्तमै मस्तिष्क भरी बिना निम्तो पसेका
अप्रिय अप्रिय घटना दुर्घटनाहरूको
तिमी तिम्रै दुर्घटित कोलाजको फ्रेममा कैद भएका पनि हुन सक्छौ ।


पर्ख !
खोली देउ त्यो भीडको ढोका र जान देउ
तिमीलाई मन नपर्ने अनुहार
तिमीलाई मन नपर्ने आवाज
तिमीलाई आफ्नो नलाग्ने आफ्नो मान्छे
तिमीलाई माया नगर्ने मायालु
तिमीलाई साथ नदिने साथी
तिमीलाई काम ललाग्ने काम
अनि हेर भीडका अवशेष
अनि सुन तेही भीडको सँगीत
तेही भीडको लय

पर्ख, त्यो भीडको गीत नसुनीकनै पो निस्कियौ कि तिमी
तिमीबाट टाढा जाने रोजाइनै नपाएको तिम्रो छायाँको मन दुःखाउन
त्यो भीडको भ्रमलाई नभत्काइकनै पो निस्कियौ कि तिमी ।

साँझ परेको छ भने
घाम अस्ताउँदै होला
बाटो वा चोकबाट
खोला, नदी वा समुन्द्रको किनारबाट
बस स्टप बाट वा ट्रेन स्टेशनबाट
वा घामले आधा फन्को लगाउँदा
एक फन्को लगाएर फेरी घरतिरै पुगेका छौ भने
तेही झ्यालबाट
तेही बार्दलीबाट
तेही पिँढीबाट
तेही आगनबाट
जहाँबाट मिल्छ
घामलाई फेरि तिम्रो अनुहारमा ठोक्किन देउ
यसपटक शायद आँखालाई घाम निको लाग्नेछ
आँखा खोल
र ग्रहण गर
रातभरीको अँध्यारो छिचोल्न चाहिने उज्यालो ।


पर्ख !
यो उज्योलो देखि अँध्यारोसम्मको
र अँध्यारो देखि उज्यालोसम्मको यात्रासँग भयवित भएर पो निस्कियौ कि तिमी
तिमीलाई आफ्नो ठानिरहने तर तिमीले आफ्नो नठानेका केहि प्रिय मान्छेहरूको मन दुखाउन
कमजोर धागो भएर चुँडिन पो निस्कियो कि तिमी ।

पर्ख !

 

Comments

You may like this