म आजकल ट्रेनमा निकै कम यात्रा गर्ने हुनाले जयन्तीलाई टाउनहलमा नौबजे पुग्ने गरी ट्रेनको स्केज्युल हेरिदेऊ भनेर उठ्ने बित्तिकै सम्झाएको थिएँ । एक्स्प्रेस ट्रेन आठ सातमा र आठ बाइसमा छ भन्ने कुरा थाहा पाए पछि मैले आठ सातमा जाने निर्णय गरेँ । डिमेन्सिया इन्टरनेसनल कन्फेरेन्स २०१८ को आज पहिलो दिन थियो । सिड्नीको हिल्टन होटेलभित्र हुन गइरहेको कन्फेरेन्सको ओपनिङ स्पिच आठ पचासमै शुरु हुने हुनाले मलाई आठ बाइसको ट्रेनले समयमा पुर्याउँदैन थियो । यो स्केज्युलको गणितलाई क्याल्कुलेट गर्दा गर्दै घडी हेरेँ । सात पैँचाइलिस भैसकेछ । जयन्तीले जाडोमा मेरैलागि बनाएको टोस्ट पनि नटोकिकनै निस्किएँ । स्टेशनको नजिकैको स्ट्रिटमा गाडी पार्क गर्दा नै आठ पाँच भइसकेको थियो । त्यसपछि म सँग मात्र दुई मिनेट बाँकि थियो । यति छोटो समयमा एउटा ट्राफिक लाइट काटेर, ओपल कार्ड ट्याप गरेर, एउटा भर्याङ चढेर, एउटा भर्याङ ओर्लेर मकार्थर हाइट तिर बाट आएको पुरानो सिड्नीको पुरानै ट्रेनमा म छिरेपछि थाहा पाएँ, म दौडिँदा मेरो शास झन् तिब्र गतीमा दौडिएको छ । ट्रेनका भुँइतलामा तीन जना अटाउने सिटको बीचमा एउटा सिट खाली थियो । त्यही बसेँ । म बिसाए पनि मेरो शास बिसाउन सकेन । केही बेर सम्म । शास छिटो छिटो दौडिरह्यो । ट्रेनसँगै ।
“तिम्रो बारेमा पनि मैले धेरै कुरा सुनेकी छु, तर आफ्नै आँखाले नदेखिन्जेल सम्म म पत्याउन्न । म त यस्तो मान्छे हो कि मैले आफ्नै भिसा लाउँदा पनि हातमा पेपर नभएसम्म आमालाई पनि भनेकी थिइन । तिमी भने अरुका कुरा सुन्छौ !”
मैले म बसेको डिब्बामा वरपर को छन् भन्ने थाहा पाउँदा नपाउँदै मेरो कान खोज्दै एउटा नारी स्वर आइपुग्यो । म सबैभन्दा अगाडि बसेकाले पछाडि फर्किन उचित ठानीन । यति त थाहा थियो कि ट्रेनमा भिड थियो । यस्तो एकसरो टिप्पणी सुनीसकेपछि एकैछिन संवाद रोकियो ।
“मैले चाहेको भए फेसबुकमा डिलिट गर्न सक्थेँ । मैले तिमीलाई उ स्कुलको साथी हो भनेर भनिसकेको थिएँ ।”
अघिको संवादको पंक्ति र अहिलेको पंक्ति एउटै स्वरमा आएको र बीचमा केहीबेरको मौनता भएकाले यो ट्रेनभित्रै बसेका दुईजनाको संवाद नभएर फोन संवाद हो भनेर छुट्याउन मलाई गार्हो भएन । म अझै पछाडि फर्किइन । तर मेरो अगाडि बसेर आफ्ना घुँडाहरू मै तिर तेर््स्याएर बसेका तीन जना लोग्नेमान्छेहरू मध्ये बीचको चाइनिज मुलको जस्तो देखिने प्यासेन्जरले पछाडि पट्टि हेरेर अफ्ठ्यारो माने झैँ गर्दै थियो ।
“तिमी सिरक बोकेर जाँदाखेरि पनि मैले चाहिँ मैले केही बोलिन । तिमीलाई जाडो भयो भनेर, तिमी सुतेपछि झन् अर्को सिरक पनि खापीदिएँ । म चाँही त्यस्तो खालको केटी हो । सानो कुरालाई लिएर किचकिच गर्ने केटी होइन” !
तेस्रो प्रतिक्रियाका रुपमा यस्तो अभिव्यक्ति सुन्दै गर्दा मभित्र एककिसिमको कौतुहलता उत्पन्न भइरहेको थियो । सोचेँ शायद लोग्ने सँग कुरा गर्दै छे । पार्टनर मात्रै पनि हुन सक्छ । वा बोइ फ्रेन्ड मात्र पनि हुन सक्छ । तर यति त निधो थियो कि उनीहरू संगै बस्छन् । आजकल शायद सँगै सुत्दैनन् ।
“उ सँग मै बोल्या हो । स्कुलको साथी हो । बोलेर के भो र”?
यो बाक्यले यो पनि संकेत गर्यो कि, केटा र केटी बीच थर्ड पर्सनको प्रभाव पनि छ । यो तेस्रो ब्यक्ति आउनु संयोग नहुन पनि सक्छ । र, हुन पनि सक्छ । म भित्रको मानविय प्रकृतिले अनावश्यक रुपमा ट्रेनभित्रको यो संवादलाई इन्टर्प्रेट गरिरहेको थियो ।
“तिमीले मलाई गरेका छौ तर यो भनि राख्नु पर्दैन । यो त मैले फिल गर्ने कुरा हो । ठिकै छ म ट्रेनमा छु पछि कुरा गर्छु ।”
मै ट्रेनमा चढीसकेपछि पनि आधा घण्टा भन्दा बढी कुरा गरिसकेपछि बल्ल यिनीलाई थाहा भएछ कि उनी ट्रेनमा छिन् । र, ट्रेनमा उनी मात्र होइन हरेक सिटमा अटेस मटेस गरेर बसेका यो मल्टि कल्चरल देशका मल्टिकल्चरल नागरिकहरू पनि छन् । अचम्म त यो भयो कि उनले यति भन्दा पनि संवाद भने टुंगाइनन् । कुरा अगाडि बढीरह्यो । तर, ट्रेन रोकियो । टाउन हल स्टेशनमा ।
यतिनै बेला मेरो फोन पनि आयो । तर म बोलेँ भने उसले मलाई नेपाली रहेछ भन्ने थाहा पाएर अप्ठ्यारो मान्छे कि भनेर फोन रिसिभ गरिन । आठ पचासमा मेरो सेमिनार शुरु हुने हुनाले ट्रेनभित्र एउटै डिब्बामा मलाई रिभस्वी देखि टाउन हल सम्म साथ दिएकी यी नेपाली केटीसँग मात्र अर्को स्टेशन सम्म पनि सँगै यात्रा गर्न म असमर्थ भएँ । झर्ने बेलामा उनको अनुहार सम्म हेर्न मन थियो । यद्यपि हेर्नै पर्ने कारण भने थिएन । हुन त सबै कुरा गर्नका लागि कारण कहाँ चाहिन्छ र ? म झरेँ र टाउन हाल स्टेशन बाट बाहिर निक्लिन जोर्ज स्ट्रिट एक्जिट तिर सोझिएँ । हिँड्दा हिँड्दै लाग्यो यी जोडीहरू जोडी हुन् भने निकै व्यस्त जोडी हुन् । यस्ता संवेदनशील कुराहरू संँगै बसेर गर्ने समय पनि निकाल्न नसक्ने जोडी । मन मनै लाग्यो यी जोडीहरू नजोडिने क्रममा छन् । एउटा काममा निस्किन्छ । एउटा घरमा पस्छ । हुन सक्छ यिनीहरूको सम्बन्धको प्रगाढता यही समयको अभावले धमिलिँदै गएको छ । यो ब्यस्तता भन्ने कुरा डायस्पोरिक रुटिनमा असामान्य कुरा भने होइन । आफ्नै घरको श्रीमानले श्रीमतीसँग वा श्रीमतीले श्रीमानसँग दुई तीन दिन पछि आफ्नै घरमा भेटेर चिया खाँदै सन्चो बिसन्चोका कुरा गर्छन् । तर यिनीहरुको व्यस्ततामा माया नै अस्तब्यस्त भएझैँ सुनिन्छ । हुनसक्छ अरु कुराहरु पनि होलान् । हुनसक्छ सम्बन्धको परिपक्कतालाई नबुझीकन सम्बन्धको अभ्यास गरिरहेका छन् । हुन त, यो अभ्यास पछिल्ला सम्बन्धहरूका लागि शिक्षाप्रद पनि होला । यो सामान्य भइसकेको छ कि केटा कटीहरू दुई चार बर्ष बिहे नगरी संगै बस्छन् र बिभिन्न बहानामा छुट्टिएर अर्कैसँग बिहे गर्छन् । म यस्तै नानाभाँती सोच्दै घोरीएर हिँडीरहेको थिएँ । उलवर्थ अगाडि एकजना अष्ट्रेलियन जस्ती देखिने गोरी केटीसँग झुक्किएर ठोक्किएछु । मेरो दाहीने कुमसँग उनको दाहिने कुम ठोक्काउने मभित्र कुनै रहर थिएन । र, पनि उसले मेरो सरीको बदला आफ्नो सभ्यतालाई अभिव्यक्त गरी, “ह्वाट द फक” !
Comments
You may like this