माक्र्सले बुझेको पुँजीवादी व्यवस्था र वर्गीय समाजको विज्ञान नबुझ्दै मैले यो त बुझेको थिएँ कि म कहिल्यै धनी हुने छैन । मेरी छोरी सारीका जसलाई म मेरी श्रीमती ज्योतीलाई भन्दा पनि बढी प्रेम गर्छु, उनैको कसम खाएर भन्छु कि मलाई कहिल्यै धनीहरुलाई देखेर डाह लागेन र धनी हुने इप्सा जागेन ।
तर, मलाई मेरा आधारभूत आवश्यकताहरू पनि पुरा गर्न नसक्दा, जस्तो कि, छोरीको मोन्टेस्वरीको फि, दुईटा कोठाको भाडा, लत्ता कपडा, दाल चामल र कहिलेकाहीं गुर्नुपर्ने सामान्य औषधी उपचार गर्न धौ धौ हुँदा, र, यदि ठूलै उपचार गर्नु पर्यो भने वा केही आपतकालीन घटना घट्यो भने कसरी गुजारा चलाउने होला भनेर सोच्दै गर्दा मेरो टाउको दुख्छ । रक्तचाप बढ्छ । म भयवित हुन्छ, हजारौंलाई ज्ञानको दौडमा पछाडि पारेर म यो देशको अधिकृत भएको हुँ, तर मेरो हैसियत यस्तो छ । म जति गहिरिएर हेर्छु, मेरो देशको अनुहार निकै मलिन देख्छु ।
मैले अहिलेसम्म कुनै राजनैतिक पार्टीलाई पनि खुलेर समर्थन गरेको छैन, तर, मेरा दाजु भाइ वा आफन्त कुन पार्टीका छन् भनेर नै समाजले मलाई मेरो, मैले नछानेको पार्टीसँग जोडिदिन्छन् । तर, मैले अहिलेसम्म कसैसँग भनसुन गरेर आफ्नो बाटो खुलाउने बाटो रोजिन । मलाई मेरा अफ्ठ्यारा बाले देखाएको अप्ठ्यारो बाटोले धेरै ठाउँमा मोडिनै अफ्ठ्यारो घुम्तिमा पुर्याएको छ । तर, अहिलेसम्म जसो तसो यात्रा गरिरहेकै छु ।
प्रिय देश, एक लाख सरचालिस हजार एक सय एकासी बर्ग किलोमिटर को क्षेत्रफलमा मैले पनि चार आना क्षेक्रफलको सपना देखेको थिएँ । र, मैले गएको दश बर्ष अथाह परिश्रम गर्दा पनि त्यो सपनाको जग हाल्न सकिन । मैले त्यतीबेला एउटा जीवन र सपनाको खाका बनाएको थिएँ । मैले दश वर्ष अगाडि, अबको दश वर्ष पछि यहि अधिकृतको जागिर खाएर र बिहान प्राइभेट कलेजमा भ्याइ नभ्याइ पढाएँ भने राजधानीमै नसकेपनि आफ्नै जिल्लामा त एउटा सानो घर बनाउने जग्गा जोडौंला भन्ने सोचेको थिएँ । मात्र चार आनाको ।
सारीका ६ बर्षकी भइसकिन् । म सँग मेरा आफन्त भनेका बा हुनुहुन्थ्यो । मेरा कुनै दाजुभाइ वा दिदी बहिनी छैनन् । बा पार्किन्सन्स् र मुटुका रोगी हुनु हुन्थ्यो । मृत्युसँग निकै डराउनु हुन्थ्यो । म राजधानीमा भर्खर अधिकृत भएर सिंहदरबारको अर्थ मन्त्रालयमा छिर्दा बालाई बिमारीले चाप्यो । म मा साहश थियो । यति धेरैलाई पछारेर यो सिंगो देशको अर्थ व्यवस्था सम्हाल्ने अर्थ मन्त्रालयको अर्थ सल्लाहकार सरह काम गर्ने नागरिक कसरी चानचुने हुन सक्छ ? त्यसमाथि बिहान शहरमा नाम चलेकै प्राइभेट कलेजमा पढाउथें । बाको मृत्यु भयलाई पार गर्न लखनऊ लिएर गएँ । बाले पहिले लखनौमै काम गर्नु हुन्थ्यो । बालाई लखनउको उपचार विश्वासिलो लाग्थ्यो । मलाई बाको चाहना पुरा गर्नु नै धर्म हो झैं लाग्यो । बाको छातिमा पेसमेकर राख्नु पर्ने भयो । बालाई केही महंगा औषधी खाइराख्नु पर्ने भयो । दश बर्ष अगाडि म्याग्दीको जग्गा त्यती महंगो थिएन । मैले जग्गा बेचिदिएँ । किनकि म बा बिना विल्कुल एक्लो थिएँ । मलाई मेरो स्वार्थको लागि पनि बाको उमेर लम्बाउनु थियो । मैले बालाई त्यसपछि काठमाडौंमै ल्याएँ । त्यतिखेर मेरो बिहे भएको थिएन । बाले एक दिन बिहे गर भन्नु भयो । मेरो दिदी बहिनी वा दाजु भाइ कोही थिएनन् । जीवनमा जिम्मेवारीले यसरी थिच्यो कि अहिलेसम्म कसलाई मन पराएँ, को सँग आकर्षित भएँ भन्ने कुरा मेरा लागि आकर्षणका विषय भएनन् ।
मैले डेरा गरेर बस्ने घरको छेउमा एउटा बोर्डिङ थियो । ज्योतीले त्यही बोर्डिङमा पढाउँथिन् । मैतीदेवीको साँघुरो भित्री बाटोमा हाम्रा आँखाहरूले बिहान निस्किँदा र बेलुका फर्किंदा प्राय हरेक दिन छोटो तर फराकिलो संवाद गर्थे । नरोकिइकन । नबोलिकन ।
एकदिन अडिएर सोधें, तपाइँले स्कुल पढाउनु हुन्छ होला जस्तो छ, म पनि जागिर खोजिरहेको छु ।
मैले उनीलाई पहिलो संवादमै ढाँटे । उनीले निकै चासो दिएर आफ्नो स्कुलको ठेगाना दिइन् । उनले नहिच्किचाइकन, आफ्नो मोबाइल नम्बर दिइन् ।
त्यसपछि भेटेको दिन, सिंहदरबारको क्यान्टिनमा बोलाएँ । चिया र समोसा खुवाएँ । माफी मागेँ । अनि माया मागें । माफी पनि पाएँ । माया पनि पाएँ ।
भेटेको तीन महिनामा हामीले बीहे गर्यौं । डेरामा ज्योती भित्रिएको दुइ महिनामै, बा, आमा भेट्न धुवाँ भएर उड्नुभयो । त्यसपछि मेरो आफन्त ज्योती मात्र भइन् । त्यसपछि हाम्रो जीवनमा सारिका आइन् । मेरो प्रिय देश, म कहिलेकाहीं कल्पना गर्छु, मेरा आफ्ना लाग्ने आफन्त भइदिएको भए वा कमसेकम दाजुभाइ वा दिदी बहिनी भइदिएको भए । परिवारको एक्लो भएको हुनाले मलाई ठूलो परिवार बनाउने चाहना हुन्थ्यो । चाहना हुँदैमा सबै कुरा नहुँदोरहेछ ।
मेरा साथीहरूका प्राय सबैका दुई वटा सन्तान छन् । उनीहरूको घरमा जाँदा कतै दिदी बहिनी, कतै दाजु बहिनी वा कतै दिदी भाइ सँगै खेलेको देख्छु । तेही भावुकतामा ब्यवहारिकता बिर्सिएर एकदिन हामीले बिना कण्डोम सेक्स गर्यौं । भोली बिहान भावुकता र कामुकता दुबै शीत बनेर तैरिएपछि मात्र ब्यवहारिकता थिग्रियो । ज्योेतीले भोली पल्टै कन्ट्रासेप्टिभ लिइन् ।
हामी सारीकालाई अगाध प्रेम गर्छौं । यो सम्झेर दुःख लाग्छ कि हामी पछि हाम्री छोरीको आफन्त मात्र उनको भविष्य हुनेछ । सिमीत साधन र स्रोतले असिमित चाहनाहरूको परिपुर्ति गर्न सिकाउने अर्थशास्त्रमा स्नातकोत्तर गरेर, यो देशको अर्थ मन्त्रालयको अधिक्रृत भएर पनि मैले सारिका पछि अर्को सन्तानको चाहनालाई परिवारनियोजनको अस्थायि साधन प्रयोग गरेर छेकिरहेको छु । आशा त हो, कहिलेकाहीं लाग्छ, भाग्यको घुमाउरो बाटो मेरै अघि आएर रोकिन्छ कि कुनै दिन । समाउँछ कि मेरो सपनाको हात । डोर्याउँदै डोर्याउँदै मेरो सपनालाई सिकाइदिन्छ कि साकार हुने तरिका । त्यही आशाका कारण ज्योती स्थायी परिवार नियोजन गर्न चाहँदिनन् । उनीलाई पनि मलाई जस्तै ठूलो परिवार बनाउने चाहना छ ।
प्रिय देश, मैले सरकारी कर्मचारी हुने बाहेक अरु कुनै सपना देखिन । ज्योतीलाई शिक्षिका हुन बाहेक केही मन परेन । तर उनी छोरी लाई स्कुल पुर्याउने र लिन जाने तालिकाको बीचमा प्राय सबै बिद्यालयमा अयोग्य ठानियिन् । मैले ज्योतीसँग माफी मागें । किनकि उनीले स्कुल पढाउन छोड्नु पर्ने भयो । ज्योतीको अनुहार र मनभित्रको ज्योती निभ्यो । जिम्मेवारीको युद्ध हारेर बस्ने ज्योती पनि देश बदल्ने आन्दोलन बोकेर हारेको अपांग योद्धा जस्तै भएकि छन् । युद्ध सम्झिँदा कहाली लाग्छ । कोही भन्छन् जनयुद्धले सबैभन्दा बढी पुँजीवादीहरू जन्मायो । यसैको फाइदा उठाएर कालो धनका मालिकहरू अहिले जग्गाको प्लटिङ गरि गरि शायद हाम्रो सपनाको क्षेत्रफल घटाइरहेका छन् । तिमी कति अभागि मेरो देश, जहाँ सबैभन्दा बढी कम्युनिष्टहरू छन्, यही देशमा सबैभन्दा डरलाग्दो बर्गीय भिन्नता छ ।
मेरो घरबेटी अशोक गज्जबका फरासिला देखिन्छन्, मैले हरेक महिनाको एक गते बेलुका आफै ढोका ढक्ढक्याएर दुईटा कोठाको भाडा तेर्ह हजार बुझाइन्जेलसम्म । एक पटक, दुई दिन ढिलो हुँदा उनको असन्तुष्ट अनुहारका बक्र रेखाहरूले तर्साएका थिए मलाई । त्यसैले उनी मसँग पैसा उठाउन नआउँदै म उनको ढोकामा उभिन्छु । उनका दुईवटा घर छन् । महिनाको एक लाख भाडा उठाउँछन् । जग्गाको दलाली गर्छन् । उनकै छोराबाट सुन्छु, बाले महिनाको तीन लाख कमाउँछन् । उनको छोरा बसन्त कहिलेकाहीं म सँग हजार रुपियाँ सापटी माग्छ, उसको बाउ निकै छुचो भएको गुनासो गर्छ र मेरो उदारताको प्रशंसा गर्छ । मेरो बाउले एक पैसा ट्याक्स तिर्दैन भनेर यो देशको अर्थ अधिकृतसँग खुलुम्खुल्ला पोल खोल्छ । मेरो देश मलाई यहाँ मेरो घरबेटीले वा कुनै शहरमा सटरको भाडा मात्रै पाँच छ लाख उठाउने घरधनीले वा करौडौं मुनाफा गर्ने ब्यापारीले कर तिर्छ तिर्दैन भनेर सोचें भने मेरो शरिरको रक्तचाप झनै बढ्छ भनेर म त्यतातिर ध्यानै दिन्न । तर म चुपचाप मेरो तलबबाट तिमीलाई कर तिरिरहन्छु ।
म चालिस बर्षको लागि सकेँ । यो शहरको धुवाँ र धुलोले आयु घटाएन भने पनि, म नेपालीको औषत आयु बाँचे भनेपनि, म मेरो सपना भाडाकै कोठामा देखेर भाडाकै कोठामा सेलाउन चाँहदिन । मैले आफूलाई नढाँटिकन कसरी छोरीलाई भन्न सकुँला कि छोरी सबै भन्दा ठूलो आफ्नै देश हो । देश यति योग्य भएर पनि एउटा सानो आधारभूत चाहना पुरा गर्न अयोग्य भएर मेरी छोरी पनि मैले जसरी नै बस्नु पर्यो भने भन्ने सोचेर म तर्सिरहन्छु । के म मेरो उमेर र जिम्मेवारीको उकालोदेखि डराएर कमजोर भएको हुँ । के म कायर भएको हुँ ? के म हुतिहारा भएको हुँ । प्रिय देश शायद म यी सबै भएको हुन सक्छु ।
मेरो देश, मलाई सानोमा तिम्रो नक्सा पटक्कै मन पर्दैनथ्यो । लाग्थ्यो, नक्शा कोर्नेले किन यति बिगारेर कोर्यो होला । सिधा रेखा खिचिदिएको भए सबैलाई कति सजिलो हुन्थ्यो । कहिलेकाहीं सोचिरहन्छु, मैले देशको नागरिकता त नक्शा भित्रकै बनाएँ, यो सम्पूर्ण देशलाई आफ्नो बनाएँ, यति धेरै परिश्रम गर्ने नागरिकको हैसियतले किन जाबो चार आना क्षेत्रफलको मालिक हुन सकिन । मेरो देश, म, यो देशको योग्य नागरिकको भविष्य त यस्तो छ म भनें सामान्य लाखौं नेपालीहरूको भविष्य कस्तो होला । शायद तिनीहरूको सपनाको चारआना क्षेत्रफल पनि त्यही बांगो टिंगो नक्साको रेखा बाहिर बरालिइरहेको होला ।
मेरो देश, मैले आफ्नै मन्त्रालयका केही तथ्यांकहरूको जोड घटाउ गरिरहँदा लाग्छ, कहिलेकाहीं तिम्रो लिलामीको बोली लाग्नेछ । त्यतीखेर मसँग भएको मेरो नागरिकताको आयु पनि घटिरहेझैं लाग्छ । लाग्छ, म र म जस्ता कर्मचारीहरूलाई जे थाहा छ, त्यो तिमीलाई थाहा छैन । किनकि मलाई लाग्छ, देश तिमी जनता जस्तै भेडा छौ । यस्तो पनि लाग्छ कि तिमी स्वयंम तिमी र जनता बीचको भ्रम हौ । नेपोलियन बोनापार्टलाई सधैं विश्वास थियो कि एउटा सिपाही देशको झण्डाको एउटा ध्वजा बाँकि रहिन्जेलसम्म लडिरहन्छ । शायद त्यो सिपाही र झण्डाबीचको विश्वास पनि देश हो । यो दुर्भाग्य हो कि देश कहिलेकाहीं म र ज्योेतीको सपना जस्तै कमजोर हुन्छ । युद्ध हार्नै लागेको सिपाहीको मनोदशा जस्तो लाचार हुन्छ ।
यो देश देश भनेर के भाँती उर्लिएको भनेर सोच्नु होला, मेरा लागि देश, सिमाना र भूगोल कम, मन बढी हो । कहिलेकाहीं त यस्तो पनि लाग्छ कि मन र देश दुबै भ्रम हुन् । शायद म यतिखेर भ्रम नै भएपनि प्रिय मेरै मनसँग संवाद गरिरहेको छु । म, मेरो मन जस्तै देश, मेरो मुटु जस्तै छोरी र मेरो जीवन साथी लाई छोडेर केही बर्ष चार आना क्षेत्रफलमा चारकोठाको घर बनाउने सपना बोकेर शायद चारै बर्षका लागि अष्ट्रेलिया हिँडेको छु ।
मेरो यो मनोवादलाई शब्दमा उतार्ने क्षमता मेरो थिएन । एक दशक अगाडि नै म भन्दा अलि फरक चाहना र सपना बोकेर परदेश छिरेको मेरो एउटा अभिन्न यार निष्प्रभ सजीले मेरो भावना लेखिदियो । उसलाई मनभरीको धन्यवाद ।
Comments
You may like this