नेपाली स्कुल र क्यामेलिया

डियर इरा,
 
तिमी र इमालाई ग्रानभिलको शब्दमाला स्कुलमा छोडेर म पेरामाटा लाइब्ररी मा छिरेको छु । लाइब्ररी छिर्नु अघि, वेस्टफिल्डको सातौं तलामा गाडी पार्क गरेर, तेस्रो तलाबाट बाटोमा निस्किएर हिँड्दा थाहा पाएँ, आज हावाले वाच आउट, आइ एम त विन्ड अफ विन्टर भन्दै आफु हुनुको अस्तित्व हाम्रो शरिरलाई बुझाइरहेको छ । बाबालाई पनि केहि दिन अघि अब त सिड्नीमा जाडो हट्न लाग्यो भन्ने लागेको थियो । जुन आजको दिनले गलत हो भनिदिएको छ । र, पनि लाइब्ररी भित्र न्यानो छ । यो मौषमलाई झुक्याउने न्यानो । बिज्ञानले यो प्रकृतिलाई चुनौति दिन उब्जाएको न्यानो । ओहो, म प्रसंगमा आउनुको साटो कता कता हावा झैं बहकिए छु । पेरामाटा लाइब्ररीले हरेक आइतबार साना बाबु नानीहरुका लागि साढे दश बजेपछि किड्स सो चलाउँछ । फस्ट फ्लोरमा एक जना कलाकार सुरिलो स्वरमा आफ्ना बाबा वा ममीसँग आएका नानी बाबुहरु झुमिरहेका छन् । उनीले गीतमै औंलाको गणीत पढाइरहेको र बीच बीचमा ताली बजाउन लगाइरहेको लय र ध्वनी म र मेरो वरीपरी बसिरहेको मानिसहरुले झिँझो नमानी सुनीरहेका छौं । वा सुनेर पनि वेवास्ता गरिरहेका छौं । हेर न, म अझै पनि प्रसंग मा पसिसको छैन ।
 
मलाई खास आज लेख्न मन लागेको बिषय, हाम्रो हिजोको कुराकानी हो । मैले हरेक टर्मको शुरुवातमा तिमी र इमालाई सोध्छु । तिमीहरुलाई अझै नेपाली स्कुल जान मन छ ? मैले यो प्रश्न, टेनीस खेल्ने कुरामा पनि सोध्छु । कराटे का लागि पनि सोध्छु । नेपाली स्कुलका लागि हामी लगभग आधा दिन दिनु पर्छ । एक घण्टा बाटोमा आउँदा र जाँदा बित्छ । हुन त बाबाले तिमीहरुले स्कुलमा बिताउने समयलाई साथीहरुसँग कफि गफ गरेर वा कहिले यसरी लाइब्ररी मा आएर बिताउनु हुन्छ । तर मुख्य कुरा तिमीहरुले यो तालिकलाई सकस मानेका छौ कि छैनो त्यो बाबालाई महत्वपूर्ण लाग्छ । तिमीहरुले बाबाले सोधेको प्रश्न लाई सजिलो बनइदियो । स्वस्फुर्त हामी नेपाली स्कुल जानी भनिदिएर । त्यसपछि बाबाले तिमीलाई नेपाली स्कुल जान मन पर्नुको तीन वटा कारण भन भनेर तिम्रो उत्तर जान्न उत्सुक हुनु भयो । तिमीले सजिलै भनिदियौ,
 
फस्ट, हामीले नेपाली सिक्छौं ,
सेकेण्ड, हामीले डान्स सिक्छौं,
र थर्ड, स्कुलमा फन हुन्छ ।
 
बाबा र ममीले लगभग अब घरमै नेपाली सिकाउने कि भनेर मन बनाइरहेको बेलामा तिमीले स्कुल आउनु पर्ने कारणहरु दिएप्छि, बाबाले बनाइसकेको मनलाई यो टर्मका लागि तिमीहरुको मनसँग राजी हुने सल्लाह दिनु भयो । बाबालाई तीन कारणहरु मध्ये पछिल्ला दुई कारणहरु, नृत्य सिक्न पाइन्छ र रमाइलो हुन्छ लाई प्राथमिकता दिनु भयो । नेपाली त बाबाले सिकाउनु हुन्छ , तिमीहरुलाई नृत्य बाबाले सिकाउन सक्नु हुन्न । तिमीहरुलाई त थाहा नै छ, बाबा र ममीलाई नाच्न आउँदैन । अनि तिमीहरुलाई स्कुल र त्यहाँ तिमीहरुले बनाएका साथीहरुसँगको संगतले दिने रमाइलो त घरमा झनै मिल्दैन । यो क्रममा तिमीहरु केहि सिक्यो भने त झनै यो रुटिन सान्दर्भिक र उपयोगी भयो । जस्तो इमालाई क र ख को उच्चाहरणमा हुने फरक थाहा पाउन निकै मुश्किल परिरहेको छ । आज तिमी र मैले स्कुल आउने क्रममा इमालाई सिकाउने प्रयास गर्यो । हुनसक्छ, गुरुआमाहरुको कोशिसमा तिमी र मैले पनि इमालाई सहयोग गर्यौं भने इमालाई सजिलो हुनेछ । र, इमाले ख लाई क भन्ने छैनन् । खाना खान आउनुस् भन्ने बाक्यलाई काना कान आउनुस् भन्ने छैनन् । हामी हाँसो गरेर इमालाई यो पनि सम्झादिएका छौं कि, यदि उनीले गर्ल लाई घर्ल भनिन् भने कस्तो सुनिन्छ? हामीले यसो भन्दा इमा पनि खुब मज्जाले हाँसेकि थिइन् । अनि यहि स्कलु आउने क्रममा बाबाले बाबको प्रिय साथी संजीव अंकलसँग, राजेन्द्र ठूलो बुवासँग कहिलेकाहीँ कफि र चिया पिउने अवसर पाउनुहुन्छ । मीठा गफ गर्न पाउनु हुन्छ । र, जाँगर चल्यो भने, यसरी पुस्तकालयमा आएर केहि लेख्न वा पढ्न पनि सक्नु हुन्छ । बाबा र ममीको हिजोको दुबिधामा तिमीले दिएको मागदर्शनको लागी धेरै धन्यवाद ।
 
अनि इरा, यो तस्विर एक वर्ष अघि लगभग यतिबेलै तास्मानियाको होबर्टको बोटानिकल गार्डेनमा हामीले बिदा मनाइरहेका बेला लिइएको हो । जहाँ फुलेको क्यामेलिया फुल तिमीलाई निकै मन परेर तिमीले टिपेर अञ्जुलिभरी लिएकी थियौ । बाबाले यसपटक गार्डेनमा लगाउनु भएको क्यामेलियाको बोट तिमीलाई औधि मन परेको छ । त्यो पनि अब अरु बोटहरुसँगै तिमी र इमासँगै हुर्किंदै जाने छ । अनी बाबाले राधा लाई पनि क्यामेलिया चढाउन पाउनुहुनेछ ।
राधे ।
 
२८ जुलाई २०२४

Comments

You may like this