गजल

म उस्तै छु ! पोहोर जस्तै, म उस्तै छु ! परार जस्तै
हाट सकिएपछिको त्यो, रित्तो— रित्तो बजार जस्तै

बाँझो फोरौंला फेरि सँगै, बाली रौपौँला फेरि सँगै
हर-साल सपना देखाउने, त्यो बैगुनी असार जस्तै

जति बिसाउँदा पनि किन, रोकिन मान्दैन समय
पानी पर्ने बेलाको त्यो, बिस्कुन् उठाउने हतार जस्तै

जहाँ बगेपनि पसिना, दुर्भाग्य मेरै देशको न हो !
सक्नेलाई जापान् नसक्नेलाई, तेही अरब—कतार जस्तै

म उस्तै छु ! पोहोर जस्तै, म उस्तै छु ! परार जस्तै
हाट सकिएपछिको त्यो, रित्तो— रित्तो बजार जस्तै

 

Comments

You may like this