बा बर्बराइरहन्छन् !

 
साँझ पख 
बाको घाम कास्कीकोट तिरट अस्ताउँछ
खै किन 
उदाउँदै घरेको घामसँग भन्दा 
अस्ताउँदै गरेको घामसँग 
बाको कुरो मिल्छ 
बा आफैसँग बर्बराइरहन्छन् 
‘कुरो त छोरोसँग नि मिल्थ्यो 
खै किन म अस्ताउने बेलामा 
छोरो उदाउँछु भनेर निस्क्यो ?’

बिहानी पख
बाको घाम 
काउँको डाँडातिरट उदाउँछ 
बालाई उदाउँदै गरेको घाम पटक्कै मन पर्दैन । 

बालाई 
बग्दै गरेको नदी 
र उड्दै गरेका चराहरू पनि मन पर्दैनन् । 

सेती नदी 
बाले थाहा पाउँछन् कि झैँ गरेर लुकी लुकी बगिरहेकै छ । 

बाकै टाउको माथि 
बाकै तालुमा बिष्ट्याउँदै
चराहरू उडिरहेकै छन् ! 

बालाई लाग्छ । 
यही नदीले सिकायो होला 
छोरालाई बग्दै बग्दै समुन्द्र सँग मिसाउन
बालाई लाग्छ । 
यीनै चराहरूले भनिदिए होलान् 
उडेपछि आकाश अझै फराकिलो देखिन्छ !
बालाई लाग्छ 
यही घुमिरहने घामको लहलहैमा
उज्यालो सपना देख्न खोजे होलान् सन्तानहरूले !

बालाई झनक्क रिस उठ्छ !
नदीले किन उक्लिन सिकाएन 
चराले किन फर्किन सिकाएन 
घामले त झन् भन्दै भन्दिएन 
एकदिन
फेरि यही आँगनमा उदाउनु पर्छ भनेर ! 

साँझपख बा बर्बराइरहन्छन् !

 

Comments

You may like this