कविता / अकविता

(१)

डाँडाको बीचबाट नागबेली भएर बगेको
साँघुरो कच्ची बाटोको
बीचबीचमा खाल्टो परेको छ
बाटोको किनार मानौँ आमाको च्यात्तिएको पुरानो पछ्यौरा हो
छिया छिया परेको छ
र पनि त्यो बाटोमा खच्चड, गधा र मान्छेहरू
लय मिलाएर हिँडिरहेछन् !
तपाइँलाई थाहा छ, त्यही बाटोको लय कविता हो !
तपाइँले नि भोग्नु भयो होला है !
गाउँसँग दुःखै दुःखको गीत हुन्छ ।
तपाइँले नपत्याउनुहोला
सबै दुःखहरु दुख्ने हुँदैनन्
त्यही गाउँभित्रको
नदुख्ने दुःखको लय पनि कविता हो ।
केही मानिसहरुले गाउँभित्र पसेर
जीवनकै लय विगारेर
सपनाको अकविता भाषण गरे
त्यही दिन देखि
गाउँपनि अकविता भएको हो ।
हेर्नुस् त भर्खरै मेरो अभिव्यक्तिको लय विग्रियो ।
त्यसैले त भनेको
यो कविता होइन ।
एउटा मीठो कविता लेख्नुस् है
मलाई पढ्नु मन् छ ।

(२)

बासँगै बाका दार्हीका जराहरूपनि छिप्पिएका छन् ।
जिलेटको नयाँ पत्तीले
बाको उमेरसँगै छिप्पीएको दार्ही खौरीन निहुरीँदा
दार्हीका जराहरूले काटिँदै गर्दा
सुनिरहँुजस्तो आवाज निकाल्छन् नी !
त्यो संगीत पनि कविता हो ।
यो सत्य हो कि
कहिलेकाहीँ सन्तान त्यही पत्तीको धार जस्तै भइदिन्छन् ।
पत्तीले काटेपछि चहर्याएझैँ चहर्याउने भैदिन्छन् ।
भनिदिनुस् न
किन सन्तानहरू माया कम गुनासो बढी गर्छन् ?
हेर्नुस त !
सन्तानको गुनासो गर्छु भन्ने लोभमा
कविताको संगीत नै बेसुरो भयो ।
एउटा सुरीलो कविता गुन्गुनाउनुस् न ।
सुन्न मन छ ।

 

(३)

घाटमाथि उभिएर
कविहरूले खुशी हुँदै भनेका हुन् 
 चितामाथि उडिरहेको धुवाँलाई

"बधाई छ, 
तिमी अँध्यारोबाट उज्यालो भयौ !"

कविहरूलाई लागकै हो,
त्यही उज्यालो धुवाँ कविता हो ।

जिन्दगीले जिउँछु भनेर 
जिन्दगीभरी कोशिस गरिरह्यो 
जिउन सकेन र पसले सँग 
तीन मिटर लामो जिन्दगी किन्यो 
र, झुण्ड्याइदियो जिन्दगीका अवयवहरुलाई ।

हेर्नुस् त जिन्दगीसँग गुनासो गर्ने बित्तिकै 
कविता कस्तो शास उडेको मान्छे जस्तै चिसो भयो ! 
आउनुस् न अलिकति कविताको आगो तापौँ 
मलाई धुवाँ पिउन मन छ ।

(सन्दर्भ : विश्व कविता दिवस २०१७)

Comments

You may like this