जिन्दगीको पर्खाल

जिन्दगीको पर्खाल अग्लो, तर छेकिन्न मेरो बाटो
मै पन्छाउँला तुवाँलोलाई, जब देखिन्न मेरो बाटो !

कालो बादल गर्जिनेछ, तर तर्सिने छैन म
कमजोर भई आँखाबाट झन् बर्सिने छैन म
बिझे काँडा मै उखेलुँला, तर रोकिन्न मेरो बाटो
मै पन्छाउँला तुवाँलोलाई, जब देखिन्न मेरो बाटो !

लाग्ला ठेस हिँड्दा हिँड्दै पुरानो घाउ माथि
मेरो घाउ निको पार्ने मै बन्छु मेरै साथी
भत्किए मन् मै सम्याउँला, तर भत्किन्न मेरो बाटो
मै पन्छाउँला तुवाँलोलाई, जब देखिन्न मेरो बाटो !

जिन्दगीको पर्खाल अग्लो, तर छेकिन्न मेरो बाटो
मै पन्छाउँला तुवाँलोलाई, जब देखिन्न मेरो बाटो !

Comments

You may like this