एउटा प्रश्न

अभी र म यसकारण पनि मिल्ने साथी थियौँ कि उसको र मेरो मामाघर एकै ठाउँमा थियो । पुरुन्चौर । अझ अचम्मको कुरा के थियो भने, हाम्रो थर र अभीको मामाहरूको थर एउटै थियो । पौडेल । अनि उसको थर र मेरो मामाघरको थर एउटै थियो । अधिकारी । हेमजा र पुरुन्चौरकोबीचमा बग्ने सेती गण्डकीको भने कुनै थर थिएन । हरेक चोटि मामाघर जाँदा र आउँदा सेती गण्डकीलाई देख्दा मलाई लाग्थ्यो कि सेती गण्डकी बुढी भएर होला सेतै भएर बगेकी । जसरी हाम्री हजुरआमा फुल्नु भएको थियो । सेतै भएर । अभीको हजुर आमा हुनुहुन्नथ्यो । जसरी मेरो हजुरबा हुनुहुन्नथ्यो । तर यो प्रसंगमा अभी को र मेरो परिवारको एउटा कुरा मिल्दैनथ्यो । अभीको हजुरआमा केही बर्ष अगाडि मात्र वित्नु भएको थियो । मेरो हजुरबा भने धेरै पहिले वित्नु भएको थियो । मेरो घरकाले भनेअनुसार मै जन्मेको वर्ष । म जन्मेको केही महिना पछि । मेरो आँखासँग आँखा त पक्का जुधाउनु भयो होला हजुरबाले । शायद मेरो आँखामा क्यामेराभित्र हुने जस्तो रिल थिएन । हजुरबाको अनुहार मेरो दिमागमा कैदनै भएन ।

म र अभी कहिल्यै पनि एक्लै मामाघर जाँदैनथ्यौँ । बा आमा सँगै हिँड्थ्यौँ । तर, यसपटक कसैलाई थाहा नदिइकन मामाघर गएर आउँ भन्ने सल्लाह भयो । बा त्यतीखेर हेटौँडामा सिमेन्ट किन्न जानुभएको थियो । अभीका बा नागडाँडामा तास खेल्न । दशैँको दुई दिन अगाडि हामीलाई एक्कासी मामाघर जान मन लाग्यो । कारण गण्डकी पारीको ठाडो उकालो उक्लिन नपाउँदैको चौरमा बनाइने चौरले पिङ थियो । चौरबाट हेमजा पुरै देखिन्थ्यो । त्यस्तो पिङ उपल्लो हेमजामा बनाइँदैन थियो । जे होस् हामीले देखेका थिएनौँ ।

सोध्न त मैले अभीलाई हामीलाई खेल्न दिन्नन् की पनि भनेर पनि सोधेको थिएँ । अभीले मलाई पक्का दिन्छन् भनेर ढुक्क बनायो । पोहोर साल पनि हामीले सजिलै खेल्न पाएका थियौँ । त्यही सम्झनाले झन् अभिको विश्वासको टुँडो समातिदियो ।

हामी निस्कियौँ भनेर निस्किए त जानै पाइँदैन । जतिसक्दो छिटो फर्किने भनेर हामी दशैबजे निस्कियौँ । नीलो जाँगेका दुईटा गोजीमा बारीमा पसेर एक एक वटा सुन्तला कोचार्यौँ । सुन्तलाको बोक्राले रातो रंग पर्खिरहेको थियो । भित्रको रसले गुलियो पर्खिरहेको थियो । हामीमा भने सुन्तलाको पूर्णता पर्खने कुनै धैर्यता थिएन । हरियो र अमिलो सुन्तला टिपेर हामी मेलवट तिर हुत्तियौँ । हामीसँग लम्किन सक्ने लामा खुट्टाहरू थिएनन् । त्यसैले हामी हिँड्थ्यौँ । तर हुत्तिँदै ।

बाटामा कता हिँड्यौ हो केटा हो भनेर सोध्ने मानिसहरूले घर कुरा पुर्याउने हुन् कि भनेर उनीहरूलाई हामीले त्यहीँ मेलवट सम्म जाने हो भन्थ्यौँ । मेलवटमा अम्बरेको चिया पसल थियो । त्यहाँ प्राय मानिसहरू भइरहन्थे । त्यो दिन पनि थिए । तिनीहरूले म र अभी दुबैलाई राम्रो सँग चिन्दथे । अभीले पनि जाँगेनै लगाएको थियो । हामीले जाँगेमा सकि नसकी सुन्तला कोचारेका ले बाहिरै बाट मानिसहरूले याद गर्न सक्थे । चिया पसलमा बसेकाहरूले त झनै । उनीहरूको कामनै बाटामा हिँड्नेहरूलाई घुरेर हेर्ने र गाउँभरीका काट्न मिल्ने जति कुरा काट्दै चियालाई झन् स्वादिलो बनाउने हुन्थ्यो ।

“ए केटा हो, हेर त तिमोर्का साप्राँ त पिलो आच । आइजाओ त, म निचोर्दिन्चु”

हामीलाई कसले के भन्यो भन्नेसँग सरोकार भएन । चिया पसलतिर हेर्न पनि हेरेनम् । एकसुरमा टाप कसेम । अल्लि तल ओर्लिएपछि उत्तर तिर माछापुच्छ«े को अनुहार प्रष्ट देखियो । कुवँरका बनतिर बाट फुटेको मूलको पानीले बीचबाटैमा बाटो काटेको थियो । देब्रे छेऊतिर कसैले एक बित्ता कालो पाइपका टुक्रा माटोमा धसाएर पानीलाई त्यही पाइपका भित्रबाट बाटा तिर खसालेछन् । पिउन सजिलो भयो । मुखलाई दाहिने हातको अञ्जुलीले घेरेर तिर्खा मेटीने गरी पानी पियौँ । पहरातिरका पानीअमलाका बोटले घुरेर हेरिरहका झैँ देखिन्थे । यहाँनिर मूलको पानी नभैदिएको भए हामी दुबै जना तिनै पानी अमला उखेल्दै, अमलालाई हातमा घमाउँदै माटो झार्दै हिँड्थ्यौँ होला । पानी अमलाको माटो झरीसकिपछे त्यसैले तिर्खा मेट्दै हिँड्थ्यौँ होला । तर हामी पानीअमलालाई त्यतै छोडेर पानी मात्रै पिएर हिँड्यौँ । त्यसपछि हामी सुस्त सुस्त दोभिल्ला तिर ओर्लियौँ । मानिसहरूको आउने जाने हुन्थ्यो । तर सुर्ता गर्न नपर्ने मान्छेहरू । हामीले नचिनेका मान्छेहरू । हामीलाई नचिनेका मान्छेहरू ।

अनि बल्ल अभी र म कुरा गर्न थाल्यौँ ।
“तेरो हजुरआमा किन तिमीहरूसँग नबसेकी?”, अभीले अपत्यारिलो प्रश्न गर्यो । यस्तो प्रश्न आउला भनेर नसोचिएको प्रश्न ।

हो त मसँग यसको उत्तर नै थिएन । हजुरआमा हाम्रो र ठूलो बुवाको घरमा नबसेर किन कान्छो बुवाको घरमा बस्नुभएको होला ?

“मलाई था छैन”, मैले अलि कड्किएर उत्तर दिएँ । किनकि मलाई अभीले यस्तो असजिलो प्रश्न नसोधोस् भन्ने लागिरहेको थियो । चौरले पिङ खेल्न जाँदै गर्दा किन यस्तो नचाहिँदो प्रश्न सोध्यो होलो झैँ लागिरह्यो ।

“तँलाई थाहा छ तेरो हजुरआमाले त एक्लै पकाएर खानुन्च”

अभीले झनै अचम्मको प्रश्न गर्यो । मेरो हजुरआमाले एक्लै पकाएर खाएको कुरा मैलाई नै थाहा नभएजस्तो । अघिको भन्दा पनी नचाहिने प्रश्न ।

“मलाई थाहा नभएर तँलाई थाहा हुन्च त”

मैले यसपटक झनै झर्किएर भनेँ । तर मनमनै लाग्यो, यसलाई किन मेरा हजुरआमा प्रति यति विघ्न चासो बढेको?

“मेरो हजुबाले नि एक्लै पकार खान्चन्, अब त झन् एक्लै बस्चु भन्छन्”

अभिले यसो भनेपछि मलाई कत्तिपनि झिझो लागेन । मैले केही बुझेको थिइन हाम्रो संवादको आसय तर कता कता लागिरहेको थियो कि अभिले आफ्ना हजुरबाको प्रसंग मेरी हजुरआमासँग तुलना गर्न खोजिरहेको थियो । शायद उसका हजुरबाले एक्लै बस्छु भन्नुको कारण खोजिरहेको थियो । त्यतिखेर त मेरो र अभीको त्यो संवादको वारेमा यसरी विश्लेषण पनि गर्न सक्दैनथ्यौँ । अहिले सम्झिँदा यो कारणले हो कि झैँ लाग्छ । त्यो कारणले हो कि झैँ लाग्छ । यसको तात्पर्य यो हुनसक्छ भनेर बाल्यकालका सम्झनाहरूको गणीतमा हराउनुपनि त शायद जीवननै हो ।

“किननि?”

मैले अरु केही भन्न सकिन र कान्छी औँला भन्दा पनि छोटो प्रश्न गरेँ ।

“तेरी हजुरआमा र हाम्रा हजुरबा सँगै बसेनी हुनेनी है।”

अभीले मेरो ’किननी’को उत्तर नदिइकन आफ्नै कुरा थप्यो । हामी हिँडिरहेका थियौँ । यो प्रश्न पछि भने म रोकिएँ । हामी ठिक गण्डकीलाई पार गर्नै क्रममा थियौँ । साँघरो, असुरक्षित बाँसको पुल हुँदै ।

मलाई त्यतिखेर सम्म त यति त थाहा भइसकेको थियो कि लोग्ने मान्छे र आइमाइ मान्छे सँगै बस्नु भनेको दुलाहा दुलही हुनु हो । मलाई त्यतिखेर सम्म त त्यो पनि थाहा भइसको थियो कि, मेरो हजुरआमाको दुलाहा मेरा हजुराबा हुनुहुन्छ । हजुरआमालो मलाई धेरै चोटि भनेको आधारमा मलाई यति त विश्वास भइसकेको थियो कि, हजुरआमालाई हजुरबा स्वर्गमा पर्खिबस्नु भएको छ । मेरो हजुरबाकी हजुरआमालाई आफ्ना हजुरबाको दुलही बनाउन तम्सिने अभिसँगै पुरुन्चौर जाने पुल तर्न एक रती पनि मन लागेन । म फनक्क फर्किएँ । मैले चौरले पिङ पनि विर्सिएँ । दोभिल्लाबाट मेलबोट सम्मको उकालोमा मलाई पहिले पहिले उक्लिन पनि गार्हो हुन्थ्यो । यसपटक दौडिएँ । पछाडि अभिलाई नहेरी किन दौडिएँ । उसले बोलाइरहेको पनि नसुनिकनै दौडिएँ । मेलवोटको चियापसलमा बसेका मान्छेहरूको कुरा र बाटामा मलाई यतिभाँती बेतोडसँग अनुहारबाट रगतनै चुहिएला जस्तो गरेर दौडिएको देखेर, किन दौडेको भन्नेहरूलाई पनि नसुनिकनै दौडिएँ । म आफ्नो घरतिर नगइकन कान्छाबाको घरतिर मोडिएँ । म कान्छाबाको घरको कौशीमा बस्नुभएकी हजुरआमातिर सोझैँ गएँ । हजुरआमा आत्तिनुभयो । मैले केही भनीन । हजुरआमा झनै बढी आत्तिनु भयो । म विसाउँदै गर्दा मेरो अनुहारको रातो रंग खुइलिँदै गयो । मैले हजुरआमाले दिएको स्टीलको गिलासमा पानी पिएँ । अनि हजुरआमालाई सोधेँ एउटा प्रश्न,

“हजुरआमा, तपाइँको र हजुरबाको भेट साँच्चै हुन्च?”

 

 

Comments

You may like this