माया हुँदो रहेछ ! माया हुँदो रहेनछ !

मायामा 
लिनु र दिनु हुँदो रहेछ 
मायामा 
लिनु र दिनु हुँदो रहेनछ ।

 

मायामा लिनु र दिनु हुँदो रहेछ 
जसरि तिमीले र मैले मायाँ लिन्थ्यौ 
माया दिन्थ्यौँ 
लाग्थ्यो माया 
आफ्नै आगनको मालती फूल हो !

मायामा लिनु र दिनु हुँदो रहेनछ 
जसरी तिमीविनै मैले तिमीलाई माया गरिरहेँ 
तिमीले माया दिन छोडेपछि 
तिमीले माया नदिन पनि सक्यौ

मायालाई हिँड्ने बाटो पनि चाँहिदो रहेनछ 
जसरी बहिकिँदै बगेको हावालाई गोरेटो चाहिँदैन 
मायामा
दिएको माया थापिदिने मान्छे पनि चाँहिदो रहेनछ 
जसरी तिमीविनै मैले तिमीलाई माया गरिरहेँ

मायामा लिनु र दिनु हुँदो रहेनछ !


मायामा 
भेटिनु र छुट्टिनु हुँदो रहेछ 
मायामा 
भेटिनु र छुट्टिनु हुँदो रहेनछ


मायामा 
भेटिनु र छुट्टिनु हुँदो रहेछ 
जसरी हामी भेटिन्थ्यौँ 
र भोली भेटम्ला भनेर छुट्टिन्थ्यौँ 
लाग्थ्यो 
माया, आँफ्नै गाउँको भित्तामा 
आडेस लागेको डाँडो जस्तै हो 
कहाँ जाला र हिँडेर ?

 

मायामा भेटिनु र छुटिनु हुँदोरहेनछ 
जसरी तिमी नभेटिने गरी छुट्टियौ 
जसरी तिमीलाई मैले 
नभेटिँदा पनि भेटिरहेँ 
जसरि मैले मायाको घाउ 
जानी जानी कोतरीरहेँ 
जसरी तिमी नदुःखीकन गयौ 
म हाँसी हाँसी दुःखीरहेँ

यो पापी मायामा 
मायै माया हुँदो रहेछ 
यो बैगुनी मायामा 
कतै माया हुँदो रहेनछ !

— निष्प्रभ सजी 

 

Comments

You may like this