प्रेमको PERFUME

तिमीलाई सम्झिनु पर्ने भन्दा
बिर्सिनु पर्ने कारणहरू धेरै छन् ।
मात्र बिर्सिइरहनु पर्ने
तिम्रो सम्झना यसरी आउला जस्तो लागेकै थिएन ।


तिमीले दिएका खुशीहरू भन्दा
अप्ठ्याराहरू धेरै छन् ।
जीवनको यो मोडमा
मलाई झनै अफ्ठ्यारो दिन
यति सजिलै तिम्रो सम्झना
यसरी आउला जस्तो लागेकै थिएन ।

यो पृथ्वी जस्तै गोला छन्
शायद सम्झनाका बाटाहरू
र त, घुमिरहन्छन् मेरै आँखा अगाडि

तिम्रो सम्झना कुनै दिन आउन सक्ने
सम्भावनाको ढोका
मेरो मनले मैलाई नसोधि खोली देलाकि भन्ने शंका
नभएको त होइन?
तर, यस्ता ससना कुराहरूका कारणले त झन्
तिम्रो सम्झना आउला जस्तो लागेकै थिएन ।

अल्लि अगाडि तिमीले प्रयोग गर्ने पर्फ्ुयम छरेर
पसेछ ट्रेनभित्र कोही ।
अल्लि अगाडि हामी सँगै हिँड्ने गरेको बाटोमा टुप्लुक्क पुगेछु म ।
अल्लि अगाडि तिमी कता छौ भनेर मलाई सोधिदियो कसैले ।
अल्लि अगाडि म पुगेछ एक्लै
पार्कको त्यो पुरानो कुर्चीमा
जसमा म मात्र अटाएको थिएँ
र, तिमी म माथि अटाएकी थियौ ।
अल्लि अगाडि
घुमाउरो पाराले
ब्यंग गरिदिइन मेरै श्रीमतीले
मेरै पुरानो प्रेममाथि
र, छिराइदिइन तिम्रो सम्झनालाई मेरो बेडरुमसम्म ।


तिमी यसरी बारम्बार
बाटोमा,
ट्रेनमा
काममा
घरमा
सम्झना भएर
निसंकोच यसरी आउली भनेर लागेकै थिएन ।


म त तिमीलाई यो कदापि सोध्न चाहन्न कि
तिमीलाई यस्तो अफ्ठयारो हुन्छ कि हुँदैन ?


छिर्छकि छिर्दैन मेरो प्रेमको पफर््युम
तिमी यात्रा गर्ने ट्रेनभित्र
बिसाउँछ कि बिसाउँदैन मेरो सम्झना?
तिमीले बिसाउने पार्कमा
पुग्छ कि पुग्दैन मेरो प्रेमको सुगन्ध
तिमीलाई अफ्ठ्यारोमा पार्न
तिम्रो र तिम्रो श्रीमानको घरको बेडरुमसम्म ?

 

Comments

You may like this