सम्झना

तिमीले छुट्टिनु भन्दा पहिले
म अब तिमीलाई माया गर्दिन भन्यौ
तिमीले पनि अब मलाई बिर्स भन्यौ

तिमी छुट्टिएर गए देखि
मैले तिमीलाई तिमीले भनेजस्तै
बिर्सिने अभ्यास गर्न थालेँ ।

तिमीलाई बिर्सिने अभ्यास गर्दै जाँदा
हामी तीन वर्ष सँगै बसेको कोठा त
शुरुमै बिर्सिनु पर्छ जस्तो लाग्यो
कोठा छोडें !
तिम्रो आँखामा अल्झिएको सम्झनालाई त झन्
नअल्झाइकन बिर्सिनु पर्छ जस्तो लाग्यो
शहरको भीडसँग आँखा जुधाउन थालेँ !

तिमीलाई बिर्सिने अभ्यास गर्दै जाँदा
तिमीलाई मसँग जोड्ने सबै तस्विरहरू हटाएँ
जो आँखामा नअटाएर डिजिटल भएका थिए

तिमीलाई बिर्सिने अभ्यास गर्दै जाँदा
हामीसँगै टोलाउने पि.एन. क्याम्पसको डिलमा
एक्लै टोलाउन त झन् हुँदै हुन्न झैं लाग्यो
क्याम्पस छोडेँ !
मैले मेरो प्रिय पोखरा छोडेँ !

तिमीलाई बिर्सिने अभ्यास गर्दै जाँदा
देशै छोडेँ भने त कसरी सम्झना आउला र तिम्रो भनेर
मैले मेरो प्रिय देशै छोडेँ !

आठ बर्ष पछि
मैले बिर्सिसकेकी तिमी
एक्कासी सिड्नी एयरपोर्टको टर्मिनल १ मा भेटियौ
तिमीलाई बिर्सिने अभ्यास गर्न छोडिसकेको मलाई
अचानक भेटिएकी तिमीले झनै अफ्ठ्यारोमा पार्यौ
र सोध्यौ,
“मेरो सम्झना आउँछ कि आउँदैन ?”

 

Comments

You may like this