पहाड बग्छु भन्छ !

मान्छेहरू
पहाड मुनि जरा गाडेर नबस्नु अब
बस्तीहरू
पहाडको सिँयालमा ननिँदाउनु अब
फाँटहरू बेँसीहरू
पहाडको फेदीमा नटोलाउनु अब !

होश गर्नु
जून हराएको रातमा
लाटोकोसेराहरू जब
शून्यताको गीत गाउन थाल्छन्
दिन माथि रात पोखिए जस्तै
पहाड म पनि पोखिन्छु भन्छ !

भो अब !
पहाड माथि अनर्गल
कठोरताको संज्ञा दिँदै नकुर्ननू कोहि
जब आकाश गर्जिदैँ जान्छ
जब रात ढल्दै जान्छ
धेरै भयो आजकल
पहाड
म पनि बादलसँगै पग्लिन्छु भन्छ !

ती अनावृत नागीहरू
छरिएका आखेटहरू
असह्य भएर
आँखाको डील हुँदै
अनिमेष झरिरहेका
आमाका आँसुहरू हेर्न सक्दिन म
भोलीका ती अननुभूत दृश्यांशहरू
चियाउनु अगावै
पहाड
उचाईको सन्झ्यालबाट म
सखारै धर्ती चुम्छु भन्छ !

होश गर्नु
ए पहाडको ओत बसेर
युद्धका सिमाना कोर्ने औँलाहरू हो
ऊ सगरको बीचमा उभिएर
मात्र संग्राम छेल्ने पर्खाल होइन रे
भोली फेरि आमाको आँखा नरसाउँदै
ऊ, मँ आमाको घाउ पुर्छु भन्छ !

ननिँदाउनु बस्तीहरू
जब रात ढल्दै जान्छ
जब आकाश गर्जिंदै जान्छ
धेरै भयो आजकल
पहाड बग्छु भन्छ
नदी जस्तै धर्ती माथि !

 

साभार : भूपरिवेष्टित खुट्टाहरू ( कविता संग्रह -२०६१)

Comments

You may like this