मोक्ष

म ढुक्क भएको थिएँ
अब त सेलाएँ भनेर
म ढुक्क हुँदा
मेरो मुटु पनि दौडिन छोडेर ढुक्कसँग बिसाएको थियो,
जो जीवनभरी मसँगै भीरै भीरको उकालो छिचोल्दा पनि
बिसाउन पाएको थिएन ।
कहिलेकाहीं मलाई मैले उक्लिने पहाडसँग पनि डाह लाग्थ्यो
कमसेकम ऊ फेदिमा बिसाउन पाएको छ ।

म ढुक्क भएको थिएँ ।
अब त मलाई भोक, तीर्खा र रोग केही लाग्दैन भनेर
अब त मलाई सपनामा पनि सपनाले लखेट्दैन भनेर

यसरी जीवनको पहिलो पटक
मृत्यु पाएर जीवन पाएको म
कति भाग्यमानी भनेर सोच्दै थिएँ
अगाडि हजारौंको लश्कर देखेँ ।
ठीक मेरो अगाडिबाट दुई हाँगामा बिभाजित लामबद्ध मानिसहरू देखेँ
मलाई फेरी हनहनी ज्वरो आयो
जब मैले थाहा पाएँ
मेरो ठिक अगाडि उभिएको दिव्य पुरुष
चित्रगुप्त हो ।

मैले थाहा पाएँ
मुटुको धड्कन रोकिएपनि
मेरो यात्रा रोकिएको छैन
मलाई फेरी हनहनी ज्वरो आयो

चित्र गुप्तले
मेरो जीवन पढेपछि
म प्रति दया देखाउँदै भने,
बिचरा दुःख पाएछौ,
तिमीलाई स्वर्ग पठाउँछु ।

मेरो देश
म स्वर्ग जस्तो तिम्रो भूगोलबाट नर्क भोगेर आएको नागरिकलाई
चित्रगुप्तको मुखबाट भएको स्वर्गको उच्चारणले सिल्का हान्यो ।

मेरो देश
मैले थुकेर हिँडेको छु चित्रगुप्तको मुखमा
सोझिएको छु नर्क जाने बाटो तिर
स्वर्ग जस्तै भनिएको देश र
स्वर्गबाट मुक्ति पाएर ।

 

 

Comments

You may like this