बाटो, बटुवा र सत्ता

प्रिय बाटो
तिम्रै बाटो हुँदै
हिँडेका छन् केही कामदारहरू

सत्ताले
सत्तामा पुर्‍याइदिने
नागरिकको आवश्यकता चिन्‍न नसके झैं
तिमीले पनि नचिने झैं नगर्नू
पहारा फोरेर
तिमीलाई चट्टानबाट बाटो बनाउने पनि यिनै मजदूरहरू हुन्

यतिखेर
तिनीहरूले फेर्ने सासलाई
भोक लागेको छ
यतिखेर
तिनीहरूका पाइतालामा घिस्रिरहेका चप्पलहरूलाई
चोट लागेको छ

प्रिय बाटो
तिम्रै बाटो हुँदै
हिँडेका छन् केही बटुवाहरू
यसपटक तिमी बाटो जस्तै निर्जीव नभइदिनू ।

प्रिय बाटो,
तिमीमाथि घिस्रिरहँदा
तिनीहरूको कानमा भरिदिनू
जब सम्पूर्ण देश घर बन्न सक्दैन
देश, देश रहँदैन ।
पर्ख, देशै रहँदैन न नभनीहाल,
केही नहुनेहरूलाई देशको आशा त जगाइराख्नु पर्छ ।
यी निर्बलहरूको मनोबल बढाइराख्नु पर्छ ।

यतिमात्रै भनिदिनू
गरिबहरूको देश त हुन्छ,
सत्ता हुँदैन ।

Comments

You may like this