आमा र प्रश्नहरू

आमा,
जसरी हजुरले घुर्की लगाउनु हुन्छ मसँग
मैले हजुरसँग त्यसरी नै घुर्की लगाउन सक्छु कि सक्दिन?
सक्छु कि सक्दिन मैले हजुरलाई भन्न
आमा, मलाई पनि दुख्यो हजुरको वचनले !
मेरा प्रश्नहरू अनुत्तरित छन्
तर,
हजुरको उत्तर सधैं किन यही हुन्छ?
कि, मैले जन्माएकीं हुँ तँलाई !

म हजुरको गर्भबाट निस्किएको दिन मात्रै
जन्मिनुभएको हो हजुर, आमा भएर !
जन्मिनु भएको हो बा, बा भएर !
हजुर जस्तै म पनि हजुरको जन्मदाता हो आमा !
मैले यसो भन्दा मलाई पाप लाग्छ कि लाग्दैन?

हजुरसँग पनि ससाना कुराहरू छन्
म सँग पनि ससाना कुराहरू छन्
मैले भन्दा धेरै जीवन जीउनु भएको नाताले पनि
हजुरलाई नै बढी थाहा होला,
हजुरका ससाना कुराहरूले मलाई बिझाउन नहुने
तर
मेरो ससाना कुराहरूले तपाइँलाई बिझाउँने शिलशिला
कहिले देखी शुरु भयो?

म हजुर र म बीच कुनै दूरी नहोस् भन्न चाहन्छु
सानो हुँदा हजुरसँग जसरी अंगालो हालेर रुन्थे म,
अहिले किन सक्दिन?

हजुरको र मेरो दूरीको धरातल
मेरो उमेर ठूलै भएकाले ठूलो भएको हो भने,
भनिदिनस्,
म कसरी फेरि सानो भइरहुँ ?

मलाई
हजुरलाई अंगालो हालेर
बच्चा जस्तै रुन मन छ !
सिकाउनु, आमा हुनुको धर्म हो
मैले जानिन भने, सिकाइदिनुस् !
मलाई
तपाइँको त्यही सानो हुँदाको
बच्चा जस्तै हुन मन छ !

मैले बिर्सिएको छैन,
तपाइँकै मुटुको धड्कनले धड्किएको थिएँ
तपाइँको गर्भाशयमा !
तर किन लाग्छ आजकल
हजुरको मुटु र मेरो मुटुको धड्कन
एउटै लयमा धड्किदैनन् !

मैले यति भन्दा हजुरलाई फेरि चोट पुग्ला,
मलाई त यो पनि थाहा छैन,
छोरो भएर,
आमा प्रति
यस्तो अभिव्यक्ति राख्न मिल्छ कि मिल्दैन ?

हजुरलाई शायद देखाउन नसक्ने,
तर औधी माया गर्ने छोरो ।

– निष्प्रभ सजी



Comments

You may like this