'म'

 

 

 


गाउँमा बाटो पुगेपछि
गाउँले नै बिर्सिएको
मसिनो गोरेटो हुँ
हल्लिन छोडेको पुरानो झोलुंगे पुल हुँ ।

 


हिजो हुँ
जसलाई आजले बिर्सियो
र भोलीले झनै बिर्सिने छ ।


हिजोको अखबार हुँ
जसलाई अब पढिने छैन

म मात्रै कति, मेरो बारेमा भनिरहुँ
अब तिमी भनन, तिमी को हौ ?

 

 

फेरि 'म'

मलाई
सत्य मात्र ठानिदियौ भने
मभित्रको असत्य मुस्कुराउने छ ।
मलाई
असत्य मात्र ठानिदियौ भने
मभित्रको सत्य मुस्कुराउने छ

मेरो मन सफा मात्रै छ भनिदियौ भने
मेरो मन भित्रको धमिलो मुस्कुराउने छ
मेरो मन धमिलो मात्रै छ भनिदियौ भने
मेरो मनको सफा अनुहार मुस्कुराउने छ

मैले नै बुझ्न नसकेको मलाई
टाढैबाट परिभाषित नगरिदेऊ
आऊ बरु अलिकति सँगै हिडौं
तिम्रो सत्यले मेरो सत्यको औंला समाएपछि
तिम्रो असत्यले मेरो असत्यको औंला समाएपछि
तिम्रो सफा मन मेरो सफा मनसँग मिसिएपछि
तिम्रो धमिलो मन मेरो धमिलो मनसँग मिसिएपछि
न त तिमीले मलाई बुझ्नु पर्छ
न त मैले तिमीलाई बुझ्नु पर्छ !

 

 

र, अन्त्यमा म !

 

 

 

म रंग–हिन् छु
वा म रंगीन छु
त्यसको जवाफ पनि दिउँला ।

 

मेरो स्वभाव गरुंगो छ वा हलुका छ
त्यसको तौल पनि लिउँला ।

 

तर पहिले
मेरो छेउमा आएर बस
बसेपछि
तिम्रो अनुहारमा
केही लजालु रंगहरू दौडिएछन् भने
तिमीलाई थाहा हुनेछ
रंगहरूको अर्को आयाम !

 

तिमी छेउमा बसेपछि
मैले
तिम्रोे धड्कनको लय सुने भनेँ
तिमीले
मेरो धड्कनको लय सुन्यौ भने
हामी दुबैजना
सिमलको भुवा जस्तै हलुका हुनेछौं
तिमीलाई थाहा हुनेछ
यो हाम्रो होइन, हाम्रो मनको स्वभाव हो
जो हामीलाई नै थाहा नदिइकन
छिन्मै हलुका भइदिन्छ
छिन्मै गरुङ्गो भइदिन्छ ।
तिमीलाई यो पनि थाहा हुनेछ
मनको आयातन हुँदैन
गहिराई हुँदैन
वजन हुँदैन ।

 

त्यती परबाट तिमी प्रश्न नबन
यति टाढाबाट म जवाफ हुन सक्दिन !

 

 

Comments

You may like this