म त माछापुच्छ्रेको हिउँ थिएँ

म त माछापुच्छ्रेको हिउँ थिएँ
पग्लिनु धर्म हो झैं लाग्यो
पग्लिएँ
बग्नु धर्म हो झैं लाग्यो
बगेँ
थाहै नपाई समुन्द्रमा मिसिएँ
 
थाहा थिएन
समुन्द्रको गहिराइले
माछापुच्छ्रेको उचाइलाई पनि डुबाउँदो रहेछ
म सालौं देखि पिँधमै डुबिरहेको छु
तैरिन खोजिरहेको छु
 
तैरिएपछि
बाफ बनेरे उडौंला एक दिन
समाउँला बादलको औंला
र, झुण्डिँदै झुण्डिँदै पुगौंला
मेरै घरमाथिको आकाशमा
र, नठोक्किँदै फेरि माछापुच्छ्रेको छाती
फुस्काउँला बादलको औंला
झरौंला पानी भएर
तप्प तप्प
आफ्नै आगनको बलेसीबाट !
 
 
आफ्नै घरको छानोमाथि
यसपटक पनि पानी बनेर खसिन भने
फेरि ठोक्किनु पर्ने छ हिमालकामा
फेरि हिउँ भएर जम्नु पर्ने छ
फेरि पग्लिनु पर्ने छ
फेरि बग्नु पर्ने छ
फेरि मिसिनु पर्ने छ त्यही समुन्द्रमा ।
 
ओहो ! म त माछापुच्छ्रेको हिउँ पो थिएँ !
पग्लिनु धर्म हो झैं लाग्यो
पग्लिएँ
बग्नु धर्म हो झैं लाग्यो
बगेँ
थाहै नपाई समुन्द्रमा मिसिएँ !

 

Comments

You may like this