छोरी र प्रश्न 

छोरीहरू
तिमीहरूलाई परी भनीने छ
तिमीहरूले सोध्नु
के हो परी हुनु को परिभाषा?
सोध्नु को हुन् परी र को होइनन् ?

छोरीहरू तिमीहरूलाई
सुन्दरी भनिने छ,
तिमीहरूले सोध्नु
कसरी गरिन्छ सुन्दरताको मापन?
को हुन् सुन्दर र को होइनन् ?

छोरी तिमीहरूलाई
तिमीहरू त छोरी पो हौ भनेर भनिनेछ
तिमीहरूले सोध्नु
शारिरिक भिन्नता बाहेक
छोरी हुनुको पृथकता के हो?

सोध्नु, किन हर निमेष सम्झाइन्छ छोरीहरूलाई
कि उनीहरू छोरी हुन् ?
मलाई त यो पनि थाहा छ कि
छोरीहरू तिमीहरूका प्रश्नहरू अनुत्तरित हुनेछन् ।

तिमीहरूले जवाफ पाइ हाल्यौ भने पनि
शायद उत्तर यस्तो हुनेछ,
छोरी भएर पनि किन प्रश्न गरेको ?

छोरीहरू तर प्रश्न गरिरहनु ।
तिमीहरूलाई यो समाजले
छोरी भएका कारणले दिएका उपमाहरूमाथि
छोरी को लैगिंक धरातलमा उभिएर गरिएका
व्याख्या अपव्याख्याहरू माथि
प्रश्न गरिरहनु !

प्रश्न गरेकै कारण
अकारण
तिमीहरूलाई पाइला पाइलामा ठेसलाग्ने प्रश्नहरूमाथि
मेरा प्रीय छोरीहरू,
अविराम प्रश्न गरिरहनु !

तिमीहरू साना छौ, त्यसैलै मैले
सजिला प्रश्नहरूका कुरा गरिरहेको छु
तिमीहरू हुर्किंदै जाँदा
प्रश्नहरूको कठोरता पनि हुर्किंदै जाने छ,
र, झनै कठोर भएर प्रश्नहरूको सामना गरिरहनु
प्रश्न माथि प्रश्न गरिरहनु !

Comments

You may like this