इगो

घरबेटिलाई
अलिकति भाडा घटाइदेऊ भनेर
बिनम्र अनुरोध गर्दा
तिर्न नसके निक्ले हुन्च,
कोठा खोज्नेको लाइन छ भन्ने
ओठे जवाफ आयो ।
जवाफले नराम्रोसँग इगो हर्ट भयो ।
जाबो कोठा त हो भनेर छोड्देँ ।


जति छुचो भएपनि घरबेटिको छोराले
‘सेक्रेट ब्रो’ भनेर
वाइफाइको पासवर्डसम्म त दिएथ्यो,
जि.एफ.सँग
फेसटाइम गर्न सम्म त भएथ्यो,
त्यो पनि छुट्यो ।


एक दिन, पैसा जोगाइ जोगाइ डाटा हालेँ ।
यतिका दिनसम्म कहाँ गको भनेर
जि.एफ. नराम्रो सँग झोक्किइ,
पीडा माथि पीडा, इगो फेरि हर्ट भयो ।
कति नेप्रेकी भनेर जि.एफ. छोड्देँ ।


जीवनमा धेरैबाट
थुप्रैपटक
इगो हर्ट भएपछि
यसरी त पारा लागेन भनेर परदेश आएँ ।
मेरो वर्ण, भाषा, धर्म मात्र हैन,
देशमाथि नै बारम्बार टिप्पणी गरिरहन्छ
र, घुमाउरो पाराले हेपिरहन्छ
मेरो मालिक,


म परिपक्क भएको हुँ
वा जीवन बुझेको हुँ
वा, पेट भर्नु सबै भन्दा ठूलो धर्म रहेछ
भन्ने सत्यबाट परिचित भएको हुँ,
आजकल,
साला यो इगो हर्ट नै हुँदैन ।

Comments

You may like this