छोरी र उत्तर

छोरी
नबिर्सनु है
तिमी कहिलेकाहीँ
प्रश्न मात्र होइन
उत्तर पनि बन्न सक्नु पर्छ ।
छोरी
कसैले तिमीलाई तिम्रो शरीरको दाग
मन परेन भन्यो भने,
भन्नु त्यो दाग तिम्रो आफ्नो हो
र, तिमीलाई सर्वप्रिय छ ।
जसरी अँध्यारोलाई घाम
र घामलाई अँध्यारो सर्वप्रिय छ ।
छोरी
कसैले तिमीलाई
भनिदियो भने,
कि तिम्रो ओठमा सुहाउँछ लाली,
सोध्नु कि तिनीहरूले कहिल्यै लगाएका छन्
तिनीहरूको ओठमा लाली?
छोरी कसैले तिमीलाई
भ्निदियो भने,
कि तिमीलाई गुलावी रँग सुहाउँछ
सोध्नु
के हो सुहाउनु भनेको, नसुहाउनु भनेको
को सँग छ, रंगहरूको वर्णमाला?
र भनिदिनु,
तिम्रो रंगहरूको इन्द्रणीमा
कालो पनि अटाएको छ
निलो पनि अटाएको छ ।
छोरी कसैलै तिमीलाई भनिदियो भने,
कि उनीहरूलाई तिम्रो मौनता मन पर्छ
तिम्रो कोमलता मन पर्छ,
तिमीले भनिदिनु,
कि तिमी
कोमल पनि हौ कठोर पनि हौ
तिमी मौन पनि हौ आवाज पनि हौ ।
छोरी, कसैले तिमीलाई पुतली हौ भनेर सम्झाइरह्यो भने,
तिमीले तिनीहरूलाई पनि सम्झाइरहनु,
तिमी सुन्दर झुसिलकीरा पनि हौ ।
छोरी
कसैले तिमीलाई
खुट्टामा पेन्सिल हिल जोडिदिएर
अड्याउन खोज्यो भने कतै
उभ्याउन खोज्यो भने कतै
जसरी एउटा ब्यापारीले
उसको उत्पादन बेच्न
उभ्याइरहन्छ तिमी जस्तै आकार र अनुहारलाई ।
तिमीले भनिदिनु कि,
तिमी बुख्याचा होइनौ ।
र तिमीलाई अस्विकार छ,
तिम्रो शरीरको आकारमाथिको ब्यापार
तिम्रो अस्तित्वमाथिको राजनीति ।
छोरी
सुन्दरता र कोमलताको भेलमा
तिमीलाई बगाउन खोज्यो भने कसैले
निर्धक्क भनिदिनु
जीवन यात्राको सन्तुलन मिलाउन
तिमी आफ्नै इच्छा अनुरुप बग्ने छौ पानी जस्तै
र, आफ्नै चाहनामा अडिने छौ
कहिले शान्त ताल भएर
र, आफ्नै आदेशमा ठोक्किने छौ
चट्टानहरूमाथि
कहिले बिद्रोही छाल भएर !
 

Comments

You may like this